मकवानपुरगढीको भानु मावि निर्माणमा गम्भीर लापरवाही, चरम अनियमितताको आशंका (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २७ गते ६:१९
मकवानपुरगढीको भानु मावि निर्माणमा गम्भीर लापरवाही, चरम अनियमितताको आशंका (भिडियोसहित)

२७ साउन, २०७७ हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ मा रहेको भानु माध्यमिक विद्यालयको भवन निर्माण गर्दा गम्भीर लापरवाही गरेको भेटिएको छ । भवन बनाउँदा ४ वटा बिम र जगमा हात्तिपाईले नै नराखेको प्रमाण फेला परेको छ । विद्यालयले मापदण्ड विपरीत कमजोर भवन निर्माण गरेर अनियमितता गर्न खोजेको स्थानीय बासिन्दाको आरोप छ ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ३ स्थित भानु माध्यामिक बिद्यालाको भवन निर्माणमा लापरबाही भएको पाइएको छ ।

भवनमा ४ वटा बिम नै नराखेको, हात्ती पाईले नराखेको, चुरीको दुरी ठिक ठाउँमा नभएको, ल्याब टेष्ट नगरिएको, रड कम प्रयोग गरिएको, कंक्रिट मसला बनाउँदा सिमेन्टको कम प्रयोग गरिएको लगायत थुप्रै त्रुटी फेला परेको छ ।

मसला कंक्रिट बनाउँदा सही मात्रामा बालुवा, गिटी र सिमेन्ट नराखेको पाइएको छ । बालुवा आफूखुसी सावेलले मनलाग्दी ढंगले प्रयोग गरिएको देखिन्छ ।

अर्कोतर्फ चुरीको रिंगको दुरी ४ देखि ६ इन्च हुनुपर्नेमा निकै टाढाटाढा राखिएको छ । त्यस्तै हात्तीपाईले (फुटिंग) पनि राखिएको छैन ।

सामाजिक विकास मन्त्रालय बागमती प्रदेश शिक्षा निर्देशनालयको ५० लाख रुपैयाँको बजेटमा यो बनाउन थालिएको हो । १२ कोठे ३ तल्ले भवनमा जगदेखि नै मापदण्ड बिपरित कमजोर सामग्री प्रयोग भएपछि स्थानीय बासिन्दाले विरोध गरेका छन् ।

विद्यालय भवन निर्माणमा गाउँपालिकाका कर्मचारी, प्राविधिक, विद्यालय व्यवस्थापन समितिलगायतको मिलेमतो रहेको स्थानीय बासिन्दाको आरोप छ ।

विद्यालय भवन निर्माणमा सुरुवाती चरणमै कमजोरी गरेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडामा उजुरी समेत परेको छ । अख्तियारले छानबिन पनि गरिरहेको छ । भवन निर्माण गर्दा त्रुटी भएको निरिक्षण गर्ने मकवानपुर गढी गाउँपालिकाका प्राविधिकले पनि स्वीकारेका छन ।

प्राविधिकले नै गल्ति स्वीकार गरे पनि विद्यालयका प्रधानाध्यापक भने गल्ति ढाकछोप गर्न जोडबल गरिरहेका छन ।

भवन निर्माणको काममा त्रुटी भए पछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले तत्काल निर्माण कार्य रोक्न आदेश दिएको थियो । तर आदेश अवज्ञा गर्दै भवन निर्माण कार्य संचालन भैरहेको छ ।

भवन निर्माणमा बदमासी मात्रै हैन विद्यालयले निर्माण कार्य नसकिकनै निर्माण सम्पन्नको प्रतिवेदन बनाई सामाजिक विकास मन्त्रालय शिक्षा निर्देशनालयमा बिल पेश गरेको पाइएको छ । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले भने विद्यालयको गलत काम नसच्चिए रकम भुक्तानी नहुने अडान लिएको छ ।

नमुना विद्यालय भनिएको मकवानपुरको गढी गाउँपालिका ३ मक्रान्चुलीमा मन्त्रालयले दिएको बजेटमा अनियमितता गरी रकम कुम्ल्याउन खोजिएको देखिन्छ । त्यसैले यसमा थप अनुसन्धान गरी दोषीलाई तत्काल कारबाही गर्नु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *