समाज

ओझेलमा इतिहास बोकेको धनकुटाको साँघुरीगढी (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १७ गते २०:३१
ओझेलमा इतिहास बोकेको धनकुटाको साँघुरीगढी (भिडियोसहित)

१७ साउन, २०७७ धनकुटा । किराँत राज्य हुँदा होस वा राणाकालमा धनकुटा गौडा हुँदा । धनकुटाको साँगुरीगढी मुख्य नाकाको रुपमा रह्यो । पञ्चायतकालको आधाउधि समय पनि यो ठाउँ पूर्वी पहाडको महत्वपूर्ण ठाउँका रुपमा चिनिन्थ्यो । देश संघीयतामा गएपछि यहाँको स्थानीय तहको नाम पनि साँगुरीगढी नै राखियो । त्यो ऐतिहासिक साँगुरीगढी अहिले भने गुमनाम छ ।

पूर्वी नेपालको पर्यटकीय क्षेत्र भेडेटारबाट मात्र ३ किलोमिटर उत्तरपश्चिममा छ ऐतिहासिक साँगुरी गढी । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले लिम्बूवान क्षेत्रमा रहेको यो गढीलाई १८३१ साल साउनमा जितेको र त्यसपछि यही गढी हुँदै पूर्वमा सेना पठाउने गरेको इतिहास छ ।

२०३६ सालसम्म पनि यो पूर्वी पहाडको प्रवेशद्वारको रुपमा थियो । तर जब धरान धनकुटा सडक बन्यो त्यसपछि यो गढी विरानो बन्न थाल्यो । गढीको सट्टा भेडेटारले ख्याती कमाउँदै गयो ।

यसलाई पर्यटकीय क्षेत्र बनाउन भनेर पर्यटन विकास कार्यलय काँकडभिट्टा तथा तत्कालिन जिल्ला विकास समितिले लाखौ रुपैयाँ खर्चेर गढीमा पूर्वाधार बनाए । गढीसम्म पुग्ने रेलिङसहितको सिढी, प्रवेशद्वार, शौचालय लगायतका संरचना बने । तर गढीमा पर्यटक पुगेनन् । यो गढीलाई प्रचार प्रसार गर्न सके राम्रो पर्यटकीय संभावना छ ।

कोरोना भाइरस संक्रमणको त्रासका कारण अहिले पर्यटक आवागमन ठप्प छ । कोरोनाको त्रास नहुँदा भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटकको दैनिक घुइँचो लाग्ने गर्छ । तर बाटो र पूर्वाधारको कमीले भेडेटारबाट नजिकै रहेर पनि साँगुरीगढीले पर्यटक तान्न सकेको छैन । त्यसैले गाउँपालिकाले यो गढीमा पूर्वाधार निर्माणको काम गरिरहेको छ ।

धरानबाट यही गढी हुँदै एकिकृत पदमार्ग घोषणा गरिएको छ । तर त्यसका लागि थप पूर्वाधार विकास भएको छैन । आवश्यक पूर्वाधार विकास गरेर प्रचार प्रसार गर्न सके यो गढी पूर्वी नेपालकै राम्रो गन्तव्य बन्ने थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *