कोरोनाका कारण विदेशमा अलपत्र परेकाको फर्कने क्रम शुरु

१६ साउन, २०७७ काठमाडौं । कोरोना संक्रमणका कारण विदेशमा समस्यामा परेका नेपालीलाई चौथो चरणमा स्वदेश फर्काउने काम आजदेखि फेरी शुरु भएको छ ।
विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन आजदेखि यही साउन २४ गतेसम्म उद्धार उडान हुने भएको हो ।
नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरिसकेका छन् भने नेपालीलाई घर फर्काउन विभिन्न मुलुकका एयरलाइन्सको पनि उडान तालिका बनेको छ ।
पर्यटन मन्त्रालयले बनाएको उद्धार उडान तालिकाअनुसार नेपाल एयरलाइन्सले यो अवधिसम्म १८ उडान गर्नेछ । युएईको दुबई, कतारको दोहा, साउदी अरेबियाको दमाम र जेदाह, मलेशियाको क्वालालम्पुर र जापानको नारिता चार्टर्ड उडान हुने निगमले जनाएको छ ।
हिमालयले पनि साउन २३ सम्म कूल १८ उडान गर्ने जनाएको छ । चीनको कुनमिङ, दोहा, अबुधाबी, क्वालालम्पुर र दमामामा चार्टर्ड उडान गर्ने जनाएको छ ।
विदेशी एयरलाइन्सले पनि चार्टर्ड उडान गर्नेछन् । जजिरा एयरले कुवेत, इतिहाद एयरले अबुधाबी, एयर अरेबियाले सारजाह, फ्लाइ दुबईले दुबई, कतार एयरवेजले दोहाबाट उद्धार उडान गरी नेपाली फर्काउनेछन् ।
सोही अवधिमा मालिन्दो एयरले क्वालालम्पुरबाट निरन्तर चार्टर्ड गर्ने जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन र प्रस्थान दुवै गरी १३ अन्तर्राष्ट्रिय उडान हँदैछन् ।
प्रतिक्रिया