भेरी अस्पतालमा कोरोना परीक्षणको चाप, प्रयोगशालाकर्मी दैनिक १२ घण्टा काममा (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १३ गते १७:५९
भेरी अस्पतालमा कोरोना परीक्षणको चाप, प्रयोगशालाकर्मी दैनिक १२ घण्टा काममा (भिडियोसहित)

१३ साउन, २०७७ नेपालगञ्ज । नेपालगन्जको भेरी अस्पतालमा स्थापना गरिएको पीसीआर ल्याबले ४ महिनामा १९ हजार ३ सय ५० जनाको स्वाब परीक्षण गर्ने गरेको छ । यी परीक्षणमा ८ सय १८ जना संक्रमित पहिचान भएका छन् ।

भेरीको पीसीआर प्रयोगशाला टेकुको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालापछि सबैभन्दा धेरै कोरोना परीक्षण गर्ने प्रयोगशाला बनेको छ ।

२०७७ बैशाख ७ गते देखि संचालनमा आएको भेरीको पीसीआर ल्याबले बाँके, बर्दिया, दाङ, रोल्पा, रुकुमदेखि कर्णाली प्रदेशको सुर्खेत दैलेख देखि डोल्पा सम्मका स्वाब परीक्षण गरिँदै आएको छ ।

भेरी अस्पतालका प्रयोगशालाकर्मीले दैनिक १२ घन्टासम्म काम गरेर कोरोना संक्रमितको पहिचान गरिरहेका छन् । पछिल्लो पटक स्थापना गरिएका धेरै प्रयोगशालामा उपकरण पटकपटक बिग्रने र परीक्षणको रिपोर्ट पुन अर्को ल्याबमा परीक्षण गरेर एकीन गर्नुपर्ने अवस्था छ । तर भेरी अस्पतालको ल्याबमा जडान गरिएका उपकरणमा हालसम्म कुनै समस्या आएको छैन । रिपोर्ट पनि विस्वसनीय छ ।

बैशाखको दोस्रो सातातिर १० देखि १५ नमूना मात्रै आउने भेरी अस्पतालको पीसीआर ल्याबमा पछिल्ला दिन दैनिक ४ सय वटासम्म आउने गरेका छन । कोरोना संक्रमितको अवस्था हेरेर पुल सिस्टमबाट दैनिक ३ सय देखि ३ सय ५० नमुना परीक्षण गर्ने गरिएको छ ।

भेरी अस्पतालमा पीसीआर ल्याब संचालन भएका कारण बाँके र आसपासका जिल्लामा कोरोना संक्रमितको पहिचान र उपचार सहज भएको छ । बाँकेमा मात्रै करिब ११ हजार जनाको पीसीआर परीक्षण भइसकेको छ । सामान्य अवस्थामा नमूना संकलन भएको भोलिपल्टै भेरीको पीसीआर ल्याबले रिपोर्ट दिने गरेको छ ।

बाँकेमा आइतबारसम्म भेटिएका ४ सय ४ जना कोरोना संक्रमितमध्ये ३ सय ७२ जना निको भइसकेका छन् । ३० जना आइसोलेसनमा छन् । २ जनाको उपचारको क्रममा मृत्यु भइसकेको छ । स्थानीयस्तरमा गुणस्तरीय ल्याब स्थापना हुँदा परीक्षण कति सहज हुन्छ भन्ने भेरी अस्पतालको प्रयोगशालाले देखाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *