लगातारको वर्षाले महोत्तरी सदरमुकाम जलेश्वर जलमग्न (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार ३० गते १७:४२
लगातारको वर्षाले महोत्तरी सदरमुकाम जलेश्वर जलमग्न (भिडियोसहित)

३० असार, २०७७ महोत्तरी । लगातारको वर्षाले तराईका अधिकांश भूभाग डुबानमा परेका छन् । महोत्तरीको सदरमुकाम जलेश्वर तीन दिनदेखि डुबानमा छ । नजिकका गाउँमा बनाइएका तटबन्ध भत्किएपछि पानी जलेश्वरमा पसेको छ ।

यो दृश्य हेर्नुहोस् । तपाईंलाई लाग्यो होला । बाबुले साइकलमा राखेर छोरीलाई कुनै खोला तार्दै छन् । तर हैन । यहाँ बाबु छोरीलाई साइकलमा राखेर सडकमा नै गुडाउँदै छन् । हो, तपाईँ सही सुन्दै र देख्दै हुनुहुन्छ । यो कुनै खोला वा तलाउ हैन ।

यो त महोत्तरीको सदरमुकाम जलेश्वरको दृश्य हो । तीन दिनदेखिको लगातारको वर्षापछि आएको बाढी नगरमा पसेपछि जलेश्वरमा यस्तो विजोग भएको छ ।

जलेश्वर नगरपालिका कार्यालयको ढोकैमा यस्तो दृश्य छ । बाढीले तराईँका अधिकांश भूभागमा यस्तै डुबान छ । महोत्तरीका ग्रामीण भूभाग पनि यसैगरी डुबानमा छन् । त्यसैले प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका अधिकारीले ट्याक्टरमा चढेर बाढी प्रभावितको निरीक्षण गर्नुपरेको छ ।

एकडारा गाउँपालिका महोत्तरी गाउँपालिका लगायतका गाउँमा बनाइएका तटबन्ध भत्केका कारण पानी सिधै जलेश्वर बजारमामा पसेको हो । कतिपय ठाउँमा सडक बनाउन भन्दै भत्काएर छाडिदा डुबान हुने गरेको छ ।

ट्याक्टर चढेर गाउँ पुगेका प्रमुख जिल्ला अधिकारीसँग गाउँलेले डुबानको दुख्ख सुनाउँछन् । त्यो दुख सुनेर उहाँले फोनबाटै गाउँपालिका अध्यक्षलाई निर्देशन दिनुहुन्छ ।

विपद व्यवस्थापन समिति महोत्तरीले बन्द सडक र कमजोर तटबन्ध मर्मतको लागि कडाई गरेको छ । पानी पर्न केहि कम भएका बेला तटबन्ध मर्मत र सडक व्यवस्थित बनाए आउँदा दिनमा जलेश्वर यसरी डुब्नु पर्ने थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *