समाज

महामारीमा लापरवाहीः क्वारन्टिनबाट घर पठाइएकाबाट समुदायमा जोखिम बढ्दो (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार ८ गते १९:५५
महामारीमा लापरवाहीः क्वारन्टिनबाट घर पठाइएकाबाट समुदायमा जोखिम बढ्दो (भिडियोसहित)

८ असार, २०७७ धनगढी । सुदूरपश्चिम प्रदेशमा परीक्षण विनै क्वारन्टिनबाट घर पठाइएकामा धमाधम संक्रमण देखिन थालेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले जेठ २९ गते १४ दिन क्वारन्टिनमा बसेकालाई लक्षण नदेखिए घर पठाउन मातहतका निकायलाई निर्देशन दिएको थियो ।

निर्देशनपछि प्रदेशका ९ जिल्लामा रहेका २२ हजार जनालाई घर पठाइएको छ । यसरी घर गएका १ सय भन्दा बढीमा संक्रमण देखिएको छ । चिकित्सकले यस्तो लापरवाहीले संक्रमण समुदायस्तरमा विस्तार हुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

केहि दिन अघिसम्म सुदूरपश्चिम प्रदेशमा ७० हजारभन्दा बढी नागरिक क्वारन्टिनमा थिए । अहिले त्यो संख्या घटेर ३२ हजारमा झरेको छ । प्रदेशमा संक्रमितको संख्या एक हजार नाघिसकेको छ । नयाँ संक्रमित थपिने क्रम पनि बढ्दो छ ।

यहि बेला लक्षण नदेखिएकालाई क्वारन्टीनबाट धमाधम घर पठाउने काम जारी छ । यसले संक्रमण बढाउन योगदान गरिरहेको चिकित्सक नै बताउँछन् । भाइरसको लोड तथा असर र सर्नेदर सबै संक्रमितमा एउटै नहुने कुरालाई नजर अन्दाज गरिएको उनीहरु बताउँछन् । बिना परीक्षण घर पठाउनु व्यवहारिक नभएको भन्दै चिकित्सकले यस्तो काम बन्द गर्न माग गरेका छन् ।

क्वारन्टिनबाट परीक्षण नै नगरी घर पठाउँदा अन्तिम समयमा संक्रमित भएकाले सार्ने संभावना उच्च हुन्छ । यसले संक्रमणको जोखिम बढेको छ । तर प्रदेश स्वास्थ्य निर्देशनालय भने संघीय सरकारको मापदण्ड अनुसार नै १४ दिन क्वारन्टिन बसेपछि घर पठाएको भन्दै पन्छिएको छ । स्वाब संकलनपछि रिपोर्ट आउन ढिलाई भएकाले पनि घर पठाउनु परेको उसको तर्क छ ।

संक्रमण देखिएका र १४ दिनसम्म क्वारन्टिनमा बसेकालाई परीक्षण विनै घर पठाउँदा समुदाय स्तरमै महामारीको संकेत देखिएको भनेर स्थानीय सरकार पनि त्रसित छन । होम क्वारन्टिन सुरक्षित भए पनि नागरिकले पालना नगरेको उनीहरुको गुनासो छ ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका ५८, डोटीको शिखर नगरपालिकाका १५, बैतडीको शिवनाथ गाउँपालिकाका १७, कञ्चनपुरको लालझाडी गाउँपालिकाका १४ र कैलालीका १८ जनामा क्वारन्टिनबाट घर गएपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ । घर गएका मध्ये अझै हजारौं नागरिकको परीक्षण हुन सकेको छैन । यस्तो कदमले संक्रमण समुदाय स्तरमा विस्तार हुने जोखिम बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *