बाजुराको बूढीगंगा नगरपालिकामा जनप्रतिनिधि चुन्न आज मतदान

हिमालय टिभी
२०७९ असार २३ गते ८:२३
बाजुराको बूढीगंगा नगरपालिकामा जनप्रतिनिधि चुन्न आज मतदान

२३ असार २०७९ बाजुरा । बाजुराको बूढीगंगा नगरपालिकामा जनप्रतिनिधि चुन्न मतदान भइरहेको छ ।

गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि रद्द गरेर आज मतदान गरिएको हो । बिहान ७ बजेदेखि मतदान शुरु भएको छ । बूढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार हुनुहुन्छ ।

निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडा गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिनुभयो । १० वटा मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली खटाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सूर्य थापाले शान्तिपूर्ण वातावरणमा चुनाव भइरहेको जानकारी दिनुभयो । गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो ।

निर्वाचन आयोगले गरेको स्थलगत अध्ययनले पुनःनिर्वाचन गर्ने निष्कर्ष निकालेको थियो । निर्वाचन पुनः हुनुपर्ने माग गर्दै अदालतमा मुद्दासमेत परेको थियो । पछि सर्वदलीय सहमतिका आधारमा पुनः निर्वाचनको मिति तय गरिएको थियो ।

बूढीगंगाका केही वडाहरुमा कांग्रेस र एमालेका कार्यकर्ताहरुले बुथ कब्जा गरेर मतदान गरेको आरोप लागेपछि मतगणना हुन सकेको थिएन । स्थिति असहज भएपछि त्यहाँका निर्वाचन अधिकृत नै फिर्ता भएका थिए ।

बाजुराका बडिमालिका नगरपालिका, बूढीनन्दा नगरपालिका, गौमुल गाउँपालिका, जगन्नाथ गाउँपालिका र खप्तड छेडेदह गाउँपालिका नेकपा एमालेले जितेको छ । नेपाली कांग्रेसले त्रिवेणी नगरपालिका, हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *