गोकुलगंगा गाउँपालिका : स्थानीय सरकारको यसरी अनुभूति गर्दै नागरिक (भिडियो रिपोर्टसहित)

२०७८ चैत ८ गते १८:४०
गोकुलगंगा गाउँपालिका : स्थानीय सरकारको यसरी अनुभूति गर्दै नागरिक (भिडियो रिपोर्टसहित)

८ चैत २०७८ रस्नालु (रामेछाप) । गाउँगाउँमा सिंहदरबार, यो नारा मुलुक संघीय संरचनामा प्रवेश गरेपछि खुबै चर्चित रह्यो । तर, आमनागरिकले आफ्नै आँगनमा सरकारको अनुभूति गर्न पाए कि पाएनन् ? हामीले खोतल्ने प्रयास गरेका छौं ।

शहरी क्षेत्रमा रहेका स्थानीय सरकारबाट आशा गरिएजस्तै प्रतिफल नपाएको गुनासो बढ्दै जाँदा दूरदराजमा रहेका गाउँपालिकाहरुले नागरिकका आधारभूत आवश्यकतालाई पूरा गर्न सकिन्छ भन्ने उदाहरण पनि पेश गर्न सफल भएका छन् ।

रामेछापको गोकुलगंगा गाउँपालिका यस्तो मध्येको एउटा पालिका हो । यहाँका नागरिकलाई मोनो रेल वा ठूल्ठूला सडक आयोजनाहरुको रहर थिएन । थियो, त मात्र सहज स्वास्थ्य उपचार र उच्च माध्यामिक शिक्षा । हामीले एक प्रतिनिधि पात्र रोज्यौं । यी भीमकुमारी सु्नुवार ।

गोरुको आक्रमणबाट घाइते भएकी भीमकुमारीलाई अस्पतालको आवश्यकता थियो । उहाँलाई स्थानीय पालिकाले बनाइदिएको अस्पतालले गाउँ–गाउँमा सिंहदरबार भएको अनुभूति गरायो । किनभने उहाँले सहजै उपचार पाउनुभयो ।

भीमकुमारी मात्र होइन, धेरै नागरिकले स्वास्थ्य उपचारका लागि सहजता अनुभूत गरेका छन् । कोरोना महामारीका कारण विभिन्न स्थानीय पालिकाले आफ्ना नागरिकलाई उपचार दिन नसकेका बेला भौगोलिक रुपमा विकट रहेको गोकुलगंगा गाउँपालिकाले स्थापना गरेको अस्पतालले धेरैलाई राहत दियो ।

पाँच शैय्याको यो अस्पतालमा बहिरंग, आँखा उपचार, फार्मेसी, प्रसुती सेवा मात्र होइन, व्यवस्थित ल्याबको सुविधासमेत व्यवस्था गरिएको छ ।

यति मात्र होइन, सबै वडामा स्वास्थ्य चौकीको पक्की भवन बनेका छन् । त्यहाँबाट प्राथमिक उपचार र प्रसुती सेवा प्रवाह भइरहेको छ । पाँच वर्षमा गोकुलगंगा गाउँपालिकाले संरचनाको हिसावमा ४१ वटा भवन निर्माण गरेको छ ।

पाँच सय किलोमिटर सडकको ट्र्याक खोलेको छ । तीन सय किलोमिटर सडक ग्राभेल गरिएको छ भने २० किलोमिटर सडक कालोपत्रे गरिएको छ । गाउँपालिकाका प्रत्येक घरमा कम्तिमा एम्बुलेन्स पुग्ने बाटो बनेको छ ।

आठ हजार घरधुरी भएको गाउँपालिकाको चार हजार घरमा खानेपानीको धारा पुर्‍याइसकिएको छ । रोजगारीका लागि शहर वा विदेश गइरहेका युवालाई गाउँमै रोजगारी दिन गाउँपालिकाले आलु, किवी, माछा, कुखुरा, बाख्रापालनमा अनुदान दिएर आत्मनिर्भर बनाउने काम गरेको छ ।

जनप्रतिनिधि दल विशेषका होइनन, जनताका प्रतिनिधि हुन् । यही अवधारणामा आफूले काम गरेको अध्यक्ष खड्गबहादुर सुनुवारको दाबी छ ।

जनतालाई राहतको अनूभूति गराउन ठुलाठुला सपना मात्र देखाएर हुन्न । गोकुलगंगाले गरेका यस्ता आधारभूत तर जनतासँग प्रत्यक्ष सरोकार राख्ने काम अरु ठुलाठुला पालिकाले किन नगर्ने ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *