सङ्घर्षका पाइलाः ‘जसले विदेशको जागिर छाडेर गोठालो पेसा रोजे’

हिमालय टिभी
२०७८ भदौ ११ गते १४:२४
सङ्घर्षका पाइलाः ‘जसले विदेशको जागिर छाडेर गोठालो पेसा रोजे’

११ भदौ २०७८ बेनी । रघुगङ्गा गाउँपालिका-८ पात्लेखर्कस्थित छिसखर्कको भेडीगोठमा व्यस्त रहनुभएका मिलन छन्त्याल ४५ वर्ष उमेर पार गर्नुभयो ।

युवा अवस्थाको करिब १५ वर्ष प्रवासमा जीवन बिताउनुभएका छन्त्याल विगत पाँच वर्षदेखि गाउँका पाखापखेरा र वनजङ्गलतिर भेडीगोठमा व्यस्त हुनुहुन्छ । युवा अवस्थाको प्रवासी समय मलेसियाका ठूला शहरमा बिताउनुभएका छन्त्यालले आत्मनिर्भरताको बाटो पहिल्याउँदै कठिन र सङ्घर्षयुक्त पेसा भए पनि आफ्नै जन्मथलोको सम्भावनालाई सम्हाल्न पुग्नुभएको हो ।

“वर्षौं विदेशमा बसेँ, आम्दानी सन्तोषजनक नै थियो, तर घरपरिवार सबैबाट टाढा सधैँभरि भइरहन मन लागेन, विकसित मुलुकको जीवनशैलीमा घुलमिल भए पनि त्यसलाई त्यागेर जङ्गलको गोठको दैनिकीलाई रोजेको हुँ”, उहाँले भन्नुभयो । भेडापालन फार्म नै दर्ता गरी व्यावसायिक भेडापालन सुरु गर्नुभएका छन्त्यालको फार्ममा अहिले २५० बढी भेडाबाख्रा छन् । घरमा पुख्र्यौलीरुपमा हुँदै आएको निर्वाहमुखी भेडाबाख्रापालनमा करिब रु सात लाख बढी लगानी थपेर भेडाबाख्राको सङ्ख्या बढाएको छन्त्यालले बताउनुभयो ।

पाँच वर्षदेखि भेडापालन गर्दै आउनुभएका उहाँले वनजङ्गलमा घुम्ती गोठ राख्दै आउनुभएको छ । भेडापालनबाट सन्तोषजनक आम्दानी हुने बताउनुहुने उहाँले उत्पादन भएका भेडाबाख्राका लागि बजारको अभाव नभएको अनुभव सुनाउनुभयो । उहाँका अनुसार, भेडा, खसी, साँढे, बोका खरिदका लागि ग्राहक गोठमा नै पुग्ने गरेका छन् । प्रवासबाट गाउँ फर्किएपछि गोठालो दैनिकीमा पस्नुभएका छन्त्यालले आफ्नै ठाउँमा स्वरोजगार बन्न पाउँदा खुसीको महसुस हुने गरेको बताउनुभयो ।

“स्वदेशमा रहँदा यहाँका सम्भावनालाई ख्यालै गरिएन, बाउबाजेले सम्हालेका गोठबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने अठोट लिएर विदेशको फन्को मारेर गोठमा फर्किएको हुँ, विकसित मुलुकको जीवनशैलीबाट अनकन्टार जङ्गलका यात्रा पक्कै कठिन थिए, तर आजभोलि सामान्य लाग्छ”, उहाँले भन्नुभयो ।

पात्लेखर्ककै दानबहादुर गर्वुजाले पनि प्रवासमा आर्जन गरेको कमाईलाई गाउँमै भेडापालनमा लगानी गर्नुभएको छ । रोजगारको सिलसिलामा आठ वर्षसम्म इराक बसेर फर्कनुभएका गर्बुजाले रु १३ लाखको लगानीबाट भेडापालन व्यवसाय सुरु गर्नुभएको थियो । भेडापालन थालेको पाँच वर्षमा उहाँको गोठमा भेडाको सङ्ख्या २५० नाघेको छ । हरेक वर्ष आठदेखि १० लाखसम्मका भेडा गोठबाट बिक्री हँुदै आएका छन् । एक सयको हाराहारीमा वार्षिकरुपमा भेडा गोठमा थपिन्छन् । “स्वदेश फर्किएपछि आफ्नै ठाउँमा स्वरोजगार बन्न अभिप्रायले भेडापालन थालेको हुँ, अनकन्टार जङ्गल र हिमालका काखसम्म गोठ लैजाने गर्छौं, सोचेजस्तो सजिलो त छैन भेडीगोठ तर आफ्नै ठाउँमा आत्मनिर्भर बन्ने र रोजगारसमेत सिर्जना हुने पेसा अगाल्न पाएकामा सन्तुष्ट छु”, गर्बुजाले भन्नुभयो ।

यहाँका भेडीगोठ छिसखर्क हुँदै चौरवन, च्यामली, रिखार हुँदै धौलागिरि हिमालको आधार शिविरसम्म लैजाने गरिन्छ । घुम्ती भेडीगोठमा बस्नेका लागि सञ्चारको पहुँचभन्दा टाढा, वनजङ्गल र भिरपहराको दैनिकी निकै कष्टकर र सङ्घर्षमय हुन्छ । खाद्यान्न सामग्री लिनका लागि गाउँ झर्नेबाहेक अन्य चाडपर्वदेखि सबै समय गोठमै व्यथित गर्नुपर्छ । गोठको दैनिकी सामान्य जीवनशैलीभन्दा भिन्न हुन्छ ।

यस्तै भिन्न जीवनशैलीमा घुलमिल भएको छ, ४२ वर्षीय जगत पुनको दैनिकी पनि । रघुगङ्गा गाउँपालिका-७ चिमखोलाका पुनले पनि विदेशको हण्डर खाएपछि गोठाला जीवन सुरु गर्नुभएको हो । मलेसिया र कतारको आठ वर्ष लामो वैदेशिक रोजगारबाट रित्तो हात घर फर्कनुभएका पुनले आफ्ना दाजुको सहयोगमा ३० वटा भेडा खरिद गरेर भेडापालन थाल्नुभएको थियो ।

“अरुको देशमा धेरै पसिना बगाए, भनेजस्तो कमाइ भएन, घर फर्कंदा मसँग केही थिएन, आफ्नो पाखाबारीमा पसिना बगाउने निधो गरी रित्तो हात नै आएको हुँ, अहिले मसँगै १७० वटा भेडा छन्, विदेशको हण्डरभन्दा यहाँ जङ्गल र भिर पहाडमा घुम्ती गोठको सङ्घर्षमा आनन्दित छु”, पुनले भन्नुभयो । उहाँले अहिले भेडापालनबाटै परिवारको जीविकोपार्जन गर्नुहुन्छ ।

सात वर्षदेखि भेडापालन गर्दै आउनुभएका उहाँले भेडापालनबाट भएको आम्दानीलाई समेत भेडाबाख्राको सङ्ख्या बढाउन लगानी गर्दै आउनुभएको छ । उत्पादन भएका भेडाबाख्रा बिक्रीका लागि बजार खोज्दै जानुपर्ने झण्झट छैन उहाँलाई । भेडा, बाख्रा खरिदका लागि उपभोक्ता गोठमै पुग्छन् । चाडपर्वको समय र थानमा भाकल चढाउने समयमा गोठमा रहेका भेडाबाख्रा, बोका र साँढको खरिदका लागि उपभोक्ता गोठमै उक्लने गरेको पुनको भनाइ छ ।

”सहरको जस्तो सुखसयल त यहाँ छैन, तर आफ्नै ठाउँमा ढिँडो र फाँडो खान किन नपरोस्, खुला आकासमुनि बस्न किन नपरोस्, विदेशमाभन्दा यही नै खुसी छु, पौरखका लागि पसिना बगाएको छु”, उहाँले भन्नुभयो । पुनका बाजेको पुस्ताले पनि भेडापालन गरेका थिए । बुबाको पालामा छाडेको भेडापालनलाई पुनःसुरु गर्नुभएका पुनलाई उहाँका घरपरिवारले राम्रो साथ र सहयोग दिएका छन् । छोराछोरी र श्रीमतीले गोठमा आलोपालो गरेरै भए पनि एक्लो हुन नदिएको पुनको भनाइ छ । गर्मी याममा हिमालको फेदीसम्म पुराउने भेडागोठ हिउँदमा बँेसीका फाँटसम्म झार्ने गरिन्छ । म्याग्दीको उच्च हिमाली भेग भेडापालनका लागि सम्भावनायुक्त छन् ।

अस्थायी आश्रयस्थलको माग
बढ्दो आधुनिकता र वैदेशिक रोजगारका कारण सङ्कटमा परेको परम्परागतरुपमा हुँदै आएको घुम्ती भेडाबाख्रापालनलाई व्यवस्थित बनाउन यहाँका किसानले माग गरेका छन् । परम्परागत घुम्ती गोठको अवस्थालाई सुदृढ गर्न नसकेका कारण गोठ बस्ने चलन हराउँदै जान थालेकाले यसको व्यवस्थापनका लागि घुम्ती गोठमा अस्थायी टहराको निर्माण गर्नुपर्ने उनीहरुको माग छ । वर्षात् र हिउँ पर्ने समयमा गोठको जीवन अति कष्टकर हुने भएकाले घुम्ती गोठ रहने क्षेत्रमा आश्रयस्थल बनाइदिए आफूहरुलाई सहज हुने भेडापालक किसान मिलन छन्त्यालको भनाइ छ ।

“हामी पैसा कमाउनका लागि मात्रै गोठ चलाएका होइनौँ, आफ्ना पुर्खाले गरेको पेसाको निरन्तरताका लागि पनि गोठ बस्ने आँट गरेका हौँ, तर अहिलेसम्म सरकारी तवरबाट उल्लेख्य साथ र सहयोग पाएका छैनौँ”, उहाँले भन्नुभयो । परम्परागतरुपमा चोयाँको मान्द्रोको गोठ बनाउने चलन छ । चोयाको मान्द्रोले दुई पाखा बनाएर गोठ बनाउँदा पानी नचुहिने भएकाले गोठका लागि मान्द्रो उपयोगी बन्दै आएको छ ।

पछिल्लो समय मान्द्रो बुन्ने पेसा र सीप हराउँदै जान थालेकाले कतिपय गोठमा शहरबाट त्रिपाल खरिद गरी प्रयोग गर्ने गरिएको छ । घुम्तीरुपमा सञ्चालन हुने र चरनखर्कमा गोठ सारिरहनुपर्ने भएकाले सरकारी तवरबाट टिनको अस्थायी टहरा निर्माण गरिदिए आफूहरुलाई राहत हुने चिमखोलाका भेडापालक कृषक जगत पुन बताउनुहुन्छ ।

रोग लागेमा उपचारको अभावले ठूलो नोक्सानी
मिलन छन्त्यालको गोठमा गत वर्ष १०० नयाँ भेडाबाख्रा जन्मिएका थिए । तर आधाभन्दा बढी छेराउटे रोग लागेर मरे । हरेक वर्ष गोठमा जन्मिएका भेडाबाख्रामध्ये आधाको हाराहारीमा विभिन्न रोग लागेर मर्ने गरेको छन्त्यालको भनाइ छ ।

“अनकन्टार जङ्गलबाट औषधिको खोजी कहाँ गर्नु, यता गोठ छाडेर शहर पुगेर औषधि ल्याउन सक्ने अवस्था नै हुँदैन, गोठमा सरकारी निकायबाट अहिलेसम्म कोही आएका छैनन्, रोग लागेमा स्थानीय जडीबुटी खुवाउने हो, कहिले त निको हुन्छ, कहिले औषधि नमिलेर होला झन समस्या बढ्दै जान्छ”, उहाँले भन्नुभयो ।

चिमखोलाका जगत पुनको भेडागोठमा पनि हरेक वर्ष रोग लागेर भेडाबाख्राका पाठापाठी ठुलै सङ्ख्यामा मर्ने गरेका छन् । रोगको उपचार समयमै गर्न नसक्दा आफूहरुले ठूलो आर्थिक क्षति व्यहोर्दै आएको पुनको भनाइ छ । दुर्गम र विकट क्षेत्रमा हुँदै आएका भेडापालनमा जङ्गली जनावरको आक्रमण अर्को समस्या हो ।

जङ्गलका बिचबिचमा गोठ राखिने भएकाले गोठको सुरक्षामा कुकुरको सहारा लिने गरिन्छ । गोठाला र कुकुरको निगरानीका बिचमा पनि बाघ, भालुले चरणक्षेत्र र गोठमै आएर भेडाबाख्रा खाने गर्छ । कृषकसामु पशु बीमाको पहुँच नपुगेको कारण जङ्गली जनावरको आक्रमण, रोगको सङ्क्रमण, बाढी, पहिरो र चट्याङ लागेर भेडाबाख्रा मर्दा उनीहरुले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने बाध्यता छ ।

गाउँपालिकाले दियो औषधि र उपकरण
भेडापालनका लागि सम्भावनायुक्त मानिएको म्याग्दीको रघुगङ्गा गाउँपालिकाले भेडापालक कृषकलाई औषधि र मेसिन उपकरण सहयोग गरेको छ । गत आवमा गाउँपालिको भेडापालन कार्यक्रमबाट रु १८ लाख ६६ हजार बराबरको औषधि, उन काट्ने र खसी बनाउने मेसिनलगायतका सामग्री सहयोग गरेको हो ।

गाउँपालिकाभित्र रहेका सबै भेडापालन गर्ने कृषकलाई समेटेर समूह गठन गरी गोठ सुधार, गोठका लागि शौचालय निर्माण, उन काट्ने र खसी बनाउने उपकरणमा सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकारमार्फत प्राप्त सशर्त अनुदान रु १० लाख, गाउँपालिकाको रु चार लाख र समूहमा आबद्ध कृषकको चार लाख ६६ हजार लगानीमा भेडापालन प्रवद्र्धन र व्यवस्थापनका लागि खर्च गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *