बाढीका कारण महाकाली नदीमा निर्माणाधीन पुलको काम रोकियो

७ जेठ २०७८ कञ्चनपुर । बाढीका कारण कञ्चनपुरस्थित महाकाली नदीमा निर्माणाधीन ४ लेन पुलको काम रोकिएको छ ।
दुई दिनदेखिको अबिरल वर्षाका कारण नदीमा पानीको बहाब बढ्दा निर्माण कम्पनीले पुलमा कालोपत्रे गर्न बनाइएको प्लान्ट, कालोपत्रे गर्ने मेसिनसहितका उपकरण बगाएको छ । जसबाट ४ करोड रुपैयाँको क्षति भएको निर्माण कम्पनीको दावी छ ।
नदीमा पानी बढेपछि पुलमा काम गर्ने १० जना कामदार रातभरी नदीबीच बनेको टापुमा नै अलपत्र परेका थिए । उनीहरुलाई आज बिहान उद्धार गरिएको छ ।
भीमदत्त नगरपालिकाको ओदालीदेखि महाकाली नगरपालिका–१ चाँदनी जोड्ने यो पुल निर्माणको काम अहिलेसम्म ७५ प्रतिशत सकिएको थियो । तर बाढीले क्षति गरेका कारण अब निर्माणको काम रोकिएको छ । र यसको निर्माणको काम ६ महिना पछि धकेलिएको छ ।
अहिले निर्माण सम्पन्न भइसक्नु पर्ने यो पुलको काम कोरोना संक्रमणका कारण यसअघि पनि रोकिएको थियो । पुलको निर्माण लागत तीन अर्ब २७ करोड ९३ लाख ३४ हजार रुपैयाँ छ ।
प्रतिक्रिया