दोहोरो भिडन्तमा एक भारतीयको मृत्यु

हिमालय टिभी
२०७७ फागुन २१ गते ६:३५
दोहोरो भिडन्तमा एक भारतीयको मृत्यु

२१ फागुन २०७७ महेन्द्रनगर । कञ्चनपुर बेलौरी नगरपालिका वडा नम्बर ७ स्थित नेपाल–भारतको सीमा क्षेत्र कालीपुल नजिक नेपाल प्रहरी र भारतीय तस्करको समूहबीच भिडन्त भएको छ । भिडन्तमा एक जना भारतीय तस्करको मृत्यु भएको छ।

नक्कली मुद्रा छाप्ने मेसिनसहितका सामग्री नेपाल भित्र्याइरहेको भन्ने सूचनाको आधारमा चेकजाँच गर्न खटिएको नेपाल प्रहरीको टोली र भारतीय तस्करबीच हिजो साँझ गोली हानाहान भएको हो ।

नेपाल प्रहरीको गोली लागेर भारतको पिलिभित बस्ने ३२ वर्षीय गोविन्द सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो।

सादा पोशाकमा खटिएको नेपाल प्रहरीको टोलीले तस्करबाट नक्कली मुद्रा छाप्न प्रयोग गरिने मेसिन सहितको झोला नियन्त्रणमा लिने क्रममा भारतीय तस्करको समूहले गोली र धारिलो हतियार प्रहार गर्दा एकजना नेपाल प्रहरीका जवान घाइते भएका छन् ।

तस्कर समूहमा रहेका अन्य ३ जना फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीले तस्कररुको समूहबाट बरामद गरेको झोलामा नक्कली मुद्रा छाप्ने मेसिन, सादा कागज, कागज काट्न प्रयोग हुने कटर, सलाई, सेलटेप, रुलर, पाउडर र लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पद्दार्थ समेत बरामद गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *