कोरोनाको बाहनामा बाँकेको हुलाकी सडक र पुल निर्माणमा यस्तो ढिलाइ (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ६ गते १६:४९
कोरोनाको बाहनामा बाँकेको हुलाकी सडक र पुल निर्माणमा यस्तो ढिलाइ (भिडियोसहित)

६ मंसिर, २०७७ बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा निर्माणाधिन हुलाकी सडक र पुल निर्माणमा ढिलाई भएको छ । ठेकेदारले समयमा काम नगरेपछि स्थानीय बासिन्दा समस्यामा परेका छन् ।

यो बाँकेको हुलाकी सडक तीन बर्षमा सक्ने गरी २०७६ मंसिरमा निर्माण सुरु भएको हो । राप्ती सोनारी गाउँपालिकाको कुन्डादेखि नारायणपुरसम्मको २१ किलोमिटर लामो हुलाकी सडक निर्माणमा एक बर्षमा १२ प्रतिशत मात्रै प्रगति भएको छ ।

सयममा नै काम नभएका कारण यो सडक हिउँदामा धुलो र वर्षातमा हिलाम्य हुन्छ । जसले गर्दा स्थानीय बासिन्दालाई धेरै नै समस्या भएको छ ।

साना हुन् वा ठूला सबैजसो विकास निर्माणका काम समयमा नै नगर्ने र बहाना बनाउने निर्माण कम्पनीको पूरानै बहाना हो । ६८ करोड रुपैयाँको लागतमा निर्माण सुरु भएको यो हुलाकी सडक निर्माणमा ढिलाई हुनुमा यो पटक उनीहरुले गज्जबको कारण फेला पारेका छन् कोरोना । निर्माण व्यवसायी र आयोजना प्रमुखले कोरोना संक्रमण र लकडाउनले गर्दा काम हुन नसकेको बताएका छन् । तर पनि आयोजनाले तोकिएको समयमा काम सक्ने दावी गरेको छ ।

सडक बनाउन मात्र हैन, पुल बनाउने काममा पनि ढिलाई भएको छ । राप्ती सोनारी गाउँपालिकाको मुरङा खोलाको पुल २०७५–०७६ मा सम्पन्न गर्ने गरी २०७२–०७३ मा शुरु भएको थियो ।

निर्माण व्यवसायीको ढिलासुस्तीका कारण समयमै पुल निर्माण नभए पछि सडक डिभिजन कार्यालय नेपालगन्जले गत वर्ष नै २०७७ फागुनसम्म निर्माण सम्पन्न गर्ने गरी एक बर्ष म्याद थप गरेको थियो ।

म्याद थप भएको समय सकिन चार महिना मात्रै बाँकी भए पनि पुल निर्माणको प्रगति करिब ७५ प्रतिशत मात्रै पुगेको छ । करिब ८ करोडको लागतमा निर्माण भइरहेको पुल १ सय ४० मिटर लामो छ । निर्माण व्यवसायीले तिब्र गतिमा काम गरे चार महिनमा पुल निर्माणको काम सकिन्छ ।

राप्तीसोनारी गाउँपालिकामा निर्माणाधिन हुलाकी सडक र पुल निर्माणमा जस्तै देश भर सञ्चालिन धेरै वटा विकास निर्माणका काममा ढिलाई भएको छ । तर पनि ढिलो काम गर्ने निर्माण कम्पनीलाई सरकारले कारबाही गर्न सकिरहेको छैन । त्यसैले समयमा नै काम नसक्ने प्रवृत्ति बढ्दो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *