जित, गोल र उपाधिसहित मेस्सीको युग अन्त्य
काठमाडौं : फिफा विण्डोमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले पश्चिम अफ्रिकी राष्ट्र बेनिनलाई ३-० गोलले हरायो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा अर्जेन्टिनाले ३ गोल गर्दा अन्तिम गोल लियोनल मेस्सीको नाममा रह्यो ।
जब ब्युनस आयर्सस्थित मोनुमेन्टल रंगशालामा अन्तिम सिट्ठी बज्यो त्यो क्षणले अर्जेन्टिनी फुटबल इतिहासको एउटा स्वर्णिम युगको औपचारिक अन्त्य गर्यो । मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करियरलाई पूर्णविराम लगाए । अर्थात यही खेलसँगै फुटबलमा मेसी युगको अन्त्य भएको छ ।
शताब्दी पुरानो इतिहास बोकेको मोनुमेन्टल रंगशालामा अन्तिम सिट्ठी बजेसँगै विश्व फुटबलका महान् हस्ती लियोनल मेस्सीका आँखामा आँसु छल्किए । रंगशालामा उपस्थित करिब ८५ हजार दर्शक र सहकर्मीको बीचमा भएको यो क्षण अर्जेन्टिनी फुटबल इतिहासको एउटा स्वर्णिम युगको औपचारिक अन्त्य थियो । ३९ वर्षीय मेस्सीले बेनिनविरुद्धको मैत्रीपूर्ण खेल जितसहित आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करियरको अन्तिम पाना भरे ।
अन्तिम खेलमा जादुई प्रदर्शन र शानदार विदाई
(आफ्नो विदाई खेललाई पूर्ण रूपमा अविस्मरणीय बनाउँदै मेस्सीले बेनिनविरुद्ध ३–० को जित दिलाउन महत्त्वपूर्ण भूमिका खेले । खेलको ४८औँ मिनेटमा मेस्सीको कर्नर प्रहारमा निकोलस ओटामेन्डीले हेडरमार्फत् पहिलो गोल गरे । त्यसपछि ६१ औँ मिनेटमा मेस्सीकै उत्कृष्ट पासमा निकोलस पाजले गोल गर्दै अग्रता दोब्बर बनाए । अब पालो मेस्सीको । खेलको ७१ औँ मिनेटमा भने मेस्सी आफैले पेनाल्टीमार्फत् उत्कृष्ट गोल गरे ।
खेल सुरु हुनुअघि तीन छोराहरू थियागो, मातेओ र चिरोसँगै राष्ट्रिय गान गाउँदा भावुक बनेका मेसीलाई सहकर्मी एमिलियानो मार्टिनेजले सान्त्वना दिए । खेलको केही समय रेफ्रीले खेल रोकेर मेस्सीलाई विशेष सम्मान पनि गरे । विपक्षी खेलाडी र दर्शकहरूले उभिएर लामो समय ताली बजाए । यसअघि उनलाई ब्युनस आयर्स विश्वविद्यालयले राष्ट्रप्रतिको उच्च योगदानको सम्मानस्वरूप उनलाई मानार्थ विद्यावारिधिको उपाधि पनि प्रदान गरेको थियो ।
प्रारम्भिक संघर्ष र आलोचनाका दिन
क्लब फुटबलमा थुप्रै असाधारण सफलता हासिल गरे पनि राष्ट्रिय टोलीसँगको मेस्सीको यात्रा कहिल्यै सहज थिएन । लामो समयसम्म अर्जेन्टिनी समर्थकको उच्च अपेक्षा र आलोचनाको सामना गरेका उनलाई निरन्तर महान खेलाडी डिएगो म्याराडोनासँग तुलना गरियो । अर्जेन्टिनाले महत्वपूर्ण फाइनलमा लगातार हार बेहोर्दा मेस्सीमाथि बारम्बार प्रश्न उठाइयो । विशेषगरी, सन् २०१६ मा लगातार तेस्रो पटक ठूलो प्रतियोगिताको फाइनलमा पराजित भएपछि निराश भएर उनले राष्ट्रिय टोलीबाट सन्सायकै घोषणा समेत गरे ।
२०१६ को पहिलो सन्यासः
मेस्सीको अन्तर्राष्ट्रिय करियरमा सबैभन्दा कालो दिन सन् २०१६ को कोपा अमेरिका फाइनल बन्यो । सन् २०१४ को फिफा विश्वकप र सन् २०१५ को कोपा अमेरिकाको फाइनलमा हारेको अर्जेन्टिना लगातार तेस्रो वर्ष पनि फाइनलमा पराजित भएपछि चरम मानसिक दबाब र निराशाका कारण उनले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका थिए । त्यो घोषणाले अर्जेन्टिना मात्र नभई विश्वभरका फुटबल प्रेमीलाई आश्चर्यचकित बनायो । तर, समर्थकहरूको चौतर्फी दबाब तथा आग्रहका कारण उनले केही समयपछि नै आफ्नो निर्णय फिर्ता लिए र राष्ट्रिय टोलीमा फर्किने निर्णय गरे ।
सन्यास फिर्तापछि फेरिएको भाग्यः
मेस्सी र अर्जेन्टिनी समर्थकबीचको सम्बन्धमा नयाँ मोड तब आयो, जब सन् २०२१ मा अर्जेन्टिनाले ब्राजिललाई हराउँदै कोपा अमेरिकाको उपाधि जित्यो । त्यसपछि सन् २०२२ मा कतारमा आयोजित विश्वकपको फाइनलमा फ्रान्सलाई हराउँदै अर्जेन्टिना ३६ वर्षपछि विश्वविजेता बन्यो । त्यही वर्ष इटालीलाई हराउँदै फाइनलिसिमा जितेको अर्जेन्टिनाले फेरी कोपा अमेरिका २०२४ जित्न सफल भयो ।
ऐतिहासिक कीर्तिमान र तथ्यांकः
अन्तर्राष्ट्रिय फुटबलमा मेस्सीको नाममा थुप्रै ऐतिहासिक कीर्तिमान छन्ः
अन्तर्राष्ट्रिय करियरः २१ वर्ष
कुल खेलः २०८ खेल
कुल गोलः १२६ गोल
प्रमुख उपाधिः सन् २०२२ को फिफा विश्वकप र दुईवटा कोपा अमेरिका ।
बालोन डि योरः विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत सम्मान बालोन डि योर सर्वाधिक ८ पटक जितेर उनले आफ्नो युगमा कसैको दाँजोमा नरहेको प्रमाणित गरे ।
म्याच र नेतृत्वः अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने र कप्तानी गर्ने खेलाडीको रूपमा उनले राष्ट्रलाई ऐतिहासिक सफलता दिलाए ।
एक युगको अन्त्य र उत्तराधिकारीको खोजी
रोसारियोकोबाट निस्केर विश्व फुटबलको सर्वोच्च शिखर चुम्ने मेस्सीको यो यात्रा केवल खेलकुदको कथा मात्र होइन, यो निरन्तर संघर्ष, असफलताबाट नआत्तिने जिद्दीपन र अटुट राष्ट्रिय प्रेमको प्रतीक हो । सन् २०१६ मा आँसुकासाथ सन्यासको घोषणा गरेका मेस्सी जब २०२२ मा विश्वकपको ट्रफी उचाल्दै अमर बने, तब फुटबल इतिहासमा एक अविस्मरणीय स्वर्णिम अध्याय थपियो । रा
ष्ट्रिय टोलीबाट सन्यास लिएपछि अब उनी इन्टर मियामीबाट सन् २०२८ को सिजनसम्म क्लब फुटबलमा भने निरन्तर देखिनेछन् । तर, अर्जेन्टिनाको १० नम्बर जर्सी कसले लगाउने र मेस्सीजस्तो प्रभाव छाड्न सक्ने अर्को खेलाडी पाउनु कसरी सम्भव होला भन्ने प्रश्न अहिले टोलीसामु छ । प्रशिक्षक लियोनेल स्कालोनीले तत्काल यसको निर्णय नलिने बताएका छन् । मेस्सीको यस विदाईसँगै अर्जेन्टिनाको फुटबलमा एउटा महान् र अविस्मरणीय अध्याय सकिएको छ ।

प्रतिक्रिया