सकियो एसियाड गेम्स, पदकमा चीनको दबदबा
काठमाडौं : जापानको आइची नागोया सहरमा २० औं एसियाली खेलकुद एसियाड भव्य समारोहका बीच समापन भएको छ । १६ दिनसम्म चलेको एसियाली खेलकुदको यो महाउत्सव नागोयामा सांस्कृतिक प्रस्तुतिसँगै समापन गरिएको हो । यस पटक पनि एसियाली क्षेत्रको खेलकुद पावर हाउस चीन पदक तालिकाको शीर्ष स्थानमा रहँदा केहि विश्व कीर्तिमान र सम्झनलायक प्रदर्शन देखियो । अब एसियाडको अर्को संस्करण सन् २०३० मा कतारको दोहामा हुनेछ ।
जापानको आइची नागोयामा १६ दिनसम्म चलेको २० औं एसियाडमा यो पटक पनि चीनको दबदबा रह्यो । १६९ स्वर्ण, ८९ रजत र ८३ काँस्यपदक जितेको चीनले समग्रमा ३४१ पदक जित्यो । यद्यपी विगत भन्दा चीनका लागि यो संस्करण तुलनात्मक रुपमा सफल भने हुन सकेन । चीनका लागि एसियाडमा सबैभन्दा सफल संस्करण सन् २०२३ मा भएको हाङ्झाव एसियाड हो । त्यो संस्करण चीनले २०१ स्वर्णसहित ३८३ पदक जितेको थियो । तर सन् १९८२ को नयाँ दिल्ली एसियाडदेखि ४४ वर्षका १२ संस्करणसम्म लगातार पदक तालिकाको शीर्ष स्थानमा रहनु चीनका लागि ठूलो सफलता हो ।
एसियाड २०२६ को पदक तालिकाः
चीनले पदक तालिकामा पहिलो दिनदेखिनै अग्रता लिँदै शीर्ष स्थानमा प्रतियोगिता टुङ्ग्याउँदा आयोजक जापान दोस्रो स्थानमा रह्यो ।
(चीनले १६९ स्वर्ण, ८९ रजत र ८३ काँस्यसहित ३४१ पदक जित्यो । जापानले ८३ स्वर्णसहित २६९ पदक जित्दा तेस्रो स्थानको दक्षिण कोरियाले ३९ स्वर्णसहित १५० पदक, चौंथो स्थानको भारतले २१ स्वर्णसहित ८५ पदक र पाँचौं स्थानको उज्वेकिस्तानले २१ स्वर्णसहित ७० पदक जित्यो । गत संस्करणको एसियाडमा भारत २८ स्वर्णसहित १०६ पदक जितेर चौंथो भएको थियो । एक शरणार्थी टोलीसहित ४६ राष्ट्रका झण्डै ११ हजार खेलाडीले ४३ खेलका ७१ विधामा कुल ४६९ स्वर्णका लागि प्रतिस्पर्धा गरे । यसमा समग्र १५ सय ६८ पदकको छिनोफानो हुँदा ४० देशमात्र पदक तालिकामा सुचीकृत भए ।
व्यक्तिगत कीर्तिमान र ऐतिहासिक सफलता
पौडीतर्फ जापानका १७ वर्षीय शिन ओहाशीले पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा विश्व कीर्तिमान बनाए । निर्धारित दुरी २ मिनेट ४ दशमलव ८३ सेकेन्डमा पूरा गर्दै उनले इतिहासमै पहिलो पटक २ मिनेट ५ सेकेन्डको थ्रेसहोल्ड तोड्ने खेलाडी बनेर स्वर्ण जिते ।आर्चरीमा भारतको महिला कम्पाउन्ड टोलीले २ सय ३८ अङ्क ल्याएर विश्व कीर्तिमानी बराबरी गर्यो । ट्र्याक एन्ड फिल्डमा बहराइनकी विनफ्रेड याभीले ट्रेबल पूरा गरी दुर्लभ कीर्तिमान बनाइन् । उनले ५ हजार मिटर, १० हजार मिटर र स्टिपलचेज गरी तीनवटै विधामा स्वर्ण जित्दै ऐतिहासिक सफलता पाएकी हुन् । पौडीतर्फ चीनकी यू जिदीले महिला २०० मिटर बटरफ्लाई र ४०० मिटर इन्डिभिजुअल मिड्लेमा एसियाली कीर्तिमान बनाइन ।
महिला ४०० मिटर दुरी ४९ दशमलव २० सेकेन्डमा पुरा गर्दै बहराइनकी सल्वा इद नासेरले एसियाली कीर्तिमान बनाइन् । सुटिङतर्फ भारतका निरु धान्दा र काइनान चेनाईको जोडीले मिक्स टिम ट्रयापमा ३४ अङ्क जोड्दै एसियाली कीर्तिमान बनाए ।
नेपालको प्रदर्शन र उपलब्धि
महत्वाकांक्षी लक्ष्य बोकेर जापान पुगे पनि २ कास्यमात्र बोकेर नेपाल घर फर्कियो । महिला कबड्डी टोलीले लगातार दोस्रो पटक कास्य जित्दा करातेका तेन्जिङ शेर्पाले यस पटक नेपाललाई पहिलो पदक दिलाए । २१ खेलमा १ सय ३५ खेलाडी सहभागी गराएको नेपालले अपेक्षा अनुसार प्रदर्शन गर्न सकेन । कबड्डी, कराते, क्रिकेट र गल्फबाहेक अरू खेलमा खासै चुनौती दिन सकेन । यद्यपी एथ्लेटिक्समा बनेका केहि राष्ट्रिय कीर्तिमानले जापान भ्रमणलाई थोरै राहत भने दिलायो ।
१६ दिनसम्म चलेको एसियाडले बिट मार्दा अब यसको अर्को संस्करण सन् २०३० मा कतारको दोहामा हुनेछ । यसअघि दोहामै सन् २००६ मा एसियाडको १५ औं संस्करण भएको थियो ।

प्रतिक्रिया