बजेट अभावले आठपहरिया जातिको संग्रहालय निर्माण अलपत्र (भिडियो रिपोर्टसहित)

१६ असोज २०७९ धनकुटा । धनकुटा नगरपालिका क्षेत्रमा मात्रै बसोवास रहेको जाति हो आठपहरिया । यसै जातिको कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले धनकुटामा आठपहरिया जातिको संग्रहालय निर्माण सुरु गरियो । तर, बजेट नआउँदा योजना अलपत्र परेको छ ।
धनकुटा नगरपालिका क्षेत्रमा मात्रै बसोवास रहेको आठपहरिया जातिको कला संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले २०७७ सालबाट संग्रहालय निर्माण सुरु भयो । संघीय सरकारको ५० लाख रुपैयाँको सहयोगमा नगरपालिकाले डिपीआर तयार भयो । तर, २०७८ सालमा १० लाख मात्र रकम प्राप्त भयोे ।
चालु आर्थिक वर्षमा भने सो भवनको लागि कुनै पनि योजना पर्न सकेन । जस कारण योजना अलपत्र बनेको छ । विभिन्न सरकार परिवर्तनको असर तथा एउटा सरकारले अर्को सरकारले गदै आएको कामलाई निरन्तरता नदिँदा आठपहरिया जातिको निर्माणाधिन संग्रहालय अलपत्र बन्न पुग्यो ।
आठपहरिया जातिको संस्कार, संस्कृति, बाजागाजा र पोशाक संरक्षण–प्रवद्र्धनका लागि संग्रहालय बनाउन सुरु गरिएको थियो । तर, अहिले पहिलो तलामा केही निर्माण गरेपछि संरचना लथालिङ्ग अवस्थामा छन् । यो संग्रहालयको निर्माण सम्पन्न भए धनकुटामा मात्रै बसोबास रहेको आठपहरिया जातिको प्रवर्द्धन हुने निर्माण समितिको दावी छ ।
५ हजारको हाराहारी मात्र जनसंख्या रहेको आठपहरिया जाति धनकुटामा मात्र बसोबास गर्ने एक मात्र जाति हो । आधुनिकताका कारण पछिल्लो समय जातजातिको पहिचान झल्काउने संस्कृति, पोशाक लोप हुँदै गइरहेको छ ।
प्रतिक्रिया