पारि पाखामा गाडी कुदेको हेरेर बस्नुपर्ने बाध्यता यसरी भयो अन्त्य (भिडियो रिपोर्टसहित)

२० वैशाख २०७८ बुटवल । पृथ्वी राजमार्ग बनेपछि पनि त्रिशुली पारिका बासिन्दाका लागि आफ्नो ठाउँ दुर्गम थियो । उनीहरु पारिपट्टी गुडेका गाडी हेरेर दिन काट्थे । तर त्यो गाडी चढ्न र राजमार्गमा खुलेका बजार आउजाउ गर्न उनीहरुलाई त्रिशुली नदी बाधक थियो । कारण त्रिशुली नदीमा पुल थिएन । तर अहिले परिस्थिति फेरिएको छ ।
२०३० सालमा पृथ्वी राजमार्ग बनेसँगै राजमार्ग क्षेत्रमा बजार बिस्तार भयो । वारिका बासिन्दा राजमार्गको छेउछाउ झरे । तर पारिका बासिन्दा भने सडकमा कुदेका गाडी र बढ्दै गएको बजार हेरेर दिन काट्थे । उनीहरुले त्यो राजमार्ग र बजारबाट कुनै लाभ लिन सकेनन् । कारण त्रिशुली नदी बाधक बन्यो ।
त्रिशुली नदी वारपार गरेर राजमार्गसम्म पुग्न पारिका बासिन्दाले विभिन्न उपाय लगाए । काठका डुंगा बनाएर तरे । तर डुंगा त्रिशुलीको भेलले बगाएपछि धेरैले ज्यान गुमाए । त्यसपछि तुइन आयो । तुइनमा झुन्डिएर यात्रा गर्दा त्रिशुलीमा खसेर बगेकाको हिसाब किताब छैन । कतिका हातका औंला गुमे ।
पछि सरकारले झोलुङगे पुल हाल्ने नीति ल्यायो । यसले गर्दा केहीलाई सहज भयो । तर कतिलाई भने झोलुङ्गे पुल तर्न पनि ३–४ घन्टा हिँड्नु पर्ने भयो । पछि राजमार्गमा बजार भएका सबैजसो ठाउँमा झोलुङ्गे पुल बन्दै गयो र राजमार्गमा पुग्न सहज हुँदै गयो । अहिले त त्रिशुली नदीका ठाउँठाउँमा मोटर चल्ने पक्की पुल बनिरहेका छन् ।
७ वटा पुल त यही आर्थिक वर्षमा सक्ने लक्ष्य छ । पुल बन्न लागेपछि त्रिशुली पारिका धादिङ र गोरखाका बासिन्दा खुसी छन् ।
सिद्धलेक गाउँपालिकाको अमनटार र गजुरी गाउँपालिकाको जहरे बगैचा जोड्ने पुलको निर्माण ९५ प्रतिशत सकिएको छ । त्यस्तै गल्छी गाउँपालिकाको मासटारमा १ सय ४० मिटर लामो पक्की पुलको निर्माण कार्य पनि ७५ प्रतिशत सकिएको छ ।
त्यसैगरी सिद्धलेक गाउँपालिका ७ र गजुरी गाउँपालिकाको पिडा घाटवेशी जोड्ने २ सय मिटर लामो पुलको ९० प्रतिशत सकिएको छ ।
गल्छी गाउँपालिकाको कल्लेरीटार र गल्छीबजार जोड्ने पक्की पुल ६० प्रतिशत बनेको छ । त्यसैगरि गल्छी गाउँपालिकाको सालटारलाई पृथ्वी राजमार्गको बैरेनी बजारसँग जोड्ने गरी निर्माणाधीन १ सय ५१ मिटर लम्बाईको पुलको निर्माण ६० प्रतिशत सकिएको छ ।
धादिङको गल्छी गाउँपालिकाको फोस्रेटार र नुवाकोटको केउरेनीघाट जोड्ने पक्की पुल भने बनिसकेको छ । सिद्धलेक गाउँपालिकाको सलाङ आरुवासटारलाई पृथ्वीराजमार्गको मलेखु बजारसंग जोड्ने पुल पनि निर्माणाधीन छ ।
पुल बनेपछि एकातिर समयको बचत भएको छ भने अर्कोतर्फ भाडा पनि सस्तो हुने भएको छ । एकातिर ढुवानी भाडा बढी तिर्नुपर्ने, अर्कोतिर सास्ती खेप्नुपर्ने अवस्था भोगिरहे पनि अब पक्की पुल बनेपछि भने ती सवै सास्ती कम हुने विश्वास छ । राजगार्गवारी जस्तै पारिका बासिन्दाले पनि व्यापार व्यवसाय गर्ने संभावना देखेका छन् ।
प्रतिक्रिया