बागलुङको बोबाङ बाढीपहिरोमा बेपत्ता १५ जना दुई महिना बित्दा पनि फेला परेनन्
२०७७ कार्तिक १७ गते १३:४९

१७ कात्तिक, २०७७, बागलुङ । बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमा बाढीपहिरोले नरसंहार मच्चाएको आज दुई महिना पुगेको छ ।
भदौ १७ गते आएको बाढीपहिरोमा परी बेपत्ता भएका १५ जनाको दुई महिनासम्म पनि केही पत्तो लागेको छैन । पहिरोमा परी २२ जनाको मृत्यु भएको थियो ।
लामो समयसम्म खोजी गर्दासमेत बेपत्ताको अवस्था पत्ता नलागेपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालय हुँदै देशभर उनीहरूको हुलियासहितको जानकारी पठाएको छ ।
खोला किनार र बाढीपहिरो प्रभावित क्षेत्र आसपास सक्रिय खोजी भने रोकिएको छ । जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रालयको निर्देशनमा सबै बेपत्ताका परिवारलाई मृतकसरहको राहत उपलब्ध गराएको छ ।
भुजीखोलामा आएको बाढीपहिरोका कारण प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि प्रक्रिया शुरु भएको छ ।
प्रतिक्रिया