Main News

नेपालमा कोरोना संक्रमणबाट थप दश जनाको मृत्यु, ११११ जना नयाँ संक्रमित थपिए

हिमालय टिभी
२०७७ भदौ ११ गते १९:४६
नेपालमा कोरोना संक्रमणबाट थप दश जनाको मृत्यु, ११११ जना नयाँ संक्रमित थपिए

११, भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो पटक थप १० जनाको मृत्यु भएको छ । बारा, पर्सा, काठमाडौं, ललितपुर, कपिलवस्तु, रुपन्देही, बाँके, अर्घाखाँची र कास्कीका संक्रमितको ज्यान गएको हो ।

वीरगञ्जमा बारा र पर्साका तीन जनाको मृत्यु भएको छ । पर्साको धोविनी गाउँपालिका वडा नम्वर–३ का ७२ वर्षीय पुरुष, वीरगञ्ज महानगरपालिका वडा नम्वर १४ बहुअरीका ६२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दियाका २३ वर्षीया महिलाको मृत्यु भएको हो ।

भदौ ८ गते भर्ना भएका ७२ वर्षीय पुरुषको उपचारका क्रममा हिजो साँझ मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । बाराको हर्दियाकी २३ वर्षीया गर्भवती महिलाको आज बिहान मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पतालका संयोजक डा। उदय नारायण सिंहले जानकारी दिनुभयो ।

गर्भवती महिलामा हिजो मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । ८ महिनाकी गर्भवती महिला भदौ ८ गते नारायणी अस्पतालमा भर्ना भएकी थिइन । उनलाई सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखिएको थियो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

यस्तै, ललितपुरको किस्ट अस्पतालमा उपचाररत अर्घाखाँचीका ४८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भदौ ८ गते भर्ना भएका उनमा अस्ती कोरोना संक्रमण पुष्टि भएको थियो । ति पुरुषको दुवै फोक्सोमा संक्रमण भएको र हिजो मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै पाटन अस्पतालमा ललितपुरका ६५ वर्षीया महिलाको पनि संक्रमणबाट मृत्यु भएको छ । ९ गतेदेखी उपचार गराइरहेकी ति महिलाको आज विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
यसैगरी, पोखरा महानगरपालिका वडा नम्वर–११ की ३२ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा आज विहान मृत्यु भएको छ । उनी कोरोना संक्रमण पुष्टि भएपछि भदौ ७ गतेदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा उपचाररत थिइन । महिलालाई हिजोदेखि स्वास्थ्य समस्या बढ्दै गएपछि भेन्टिलेटरमा राखिएको थियो ।

निर्देशक आचार्यका अनुसार ती महिलामा अन्य कुनै पनि स्वास्थ्य रोग थिएन । यसले कुनै रोग नभएका युवामा समेत संक्रमणले असर पुर्याहउन थालेको देखिएको छ ।

यस्तै, बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत कपिलवस्तु नगरपालिकाका ५० वर्षीय पुरुषको उपचारका क्रममा गएराति मृत्यु भएको छ । भदौ ५ गते कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पताको समस्या देखिएको थियो ।

रुपन्देहीमै ७० वर्षिया महिलाको पनि कोरोना संक्रमणबाट ज्यान गएको छ । उनको बुटवलस्थित कोरोना विशेष अस्पतालमै मृत्यु भएको थियो । उनलाई पल्ज्मा थेरापीबाट उपचार भइरहँदा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ की ७० वर्षिया महिलाको मृत्यु भएको छ । शिक्षण अस्पताल कोहलपुरमा आज विहान साढे १० बजे उनको मृत्यु भएको हो ।

भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएकी महिलाको भेल्टिलेटरमा राखेर उपचार भइरहेको थियो । सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको जनाएको छ । तर उसले कतिपय विवरण समेटेको छैन ।

यसैबीच कोरोना संक्रमणको दर दिनदिनै बढ्न थालेको छ । पछिल्लो पटक कीर्तिमानी संख्यामा संक्रमित भेटिएका छन् ।

गत २४ घण्टामा एकैदिन ११ सय ११ नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या एकैदिन भेटिएको अहिलेसम्मकै धेरै हो । काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै ३ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २ सय ७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ संक्रमित थपिएका छन् ।

काठमाडौंमा पनि एकैदिन भेटिएको संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो । नेपालमा संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । शहरी क्षेत्रमा संक्रमण बढी फैलिएको छ ।

सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पनि उच्च संख्यामा संक्रमित भएका छन् । काठमाडौंपछि पर्सामा ८५, बाँकेमा ७५, रुपन्देहीमा ७२ र मकवानुपरमा ६३ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । पछिल्लो पटक बागमति, प्रदेश २ र पाँचमा धेरै नयाँ संक्रमित भेटिएका छन् ।

चितवनमा ४५, धनुषामा ३९, सुनसरीमा ३८, बारामा ३०, सप्तरीमा २२, कपिलवस्तुमा २१ तथा मोरङ र कैलालीमा २०(२० नयाँ संक्रमित भेटिएका छन् । नवलपरासी पश्चिममा १८, नवलपरासी पूर्वमा १७, बैतडीमा १७, रौतहटमा १५, काभ्रेपलाञ्चोकमा १३, दैलेखमा १२, तनहुँमा ११, सुर्खेतमा ९, वाग्लुङमा ८ तथा महोत्तरी, नुवाकोट र सिरहामा पनि ७(७ संक्रमित थपिएका छन् ।

पछिल्लो पटक ५ सय ६९ जना संक्रमणमुक्त भएका छन् । देशमा संक्रमणमुक्त हुनेको संख्या २० हजार ७३ पुगेको छ । जुन ५६ प्रतिशत मात्रै हो । गत २४ घण्टामा १२ हजार ६ सय २९ नमुनाको पीसीआर परीक्षण गरिएको छ । आइसीयुमा १ सय ४७ र भेन्टिलेटरमा १७ जनाको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइसीयुमा रहेका मध्ये धेरै काठमाडौं र प्रदेश २ का छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *