Main News

संवैधानिक परिषदसम्बन्धी मुद्दाको सुनुवाइबाट प्रधानन्यायाधीश अलग

हिमालय टिभी
२०७८ भदौ ११ गते १६:५७
संवैधानिक परिषदसम्बन्धी मुद्दाको सुनुवाइबाट प्रधानन्यायाधीश अलग

११ भदौ २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको मुद्दाको सुनुवाइबाट अलग हुनुभएको छ ।

मंसिर ३० गते र त्यसपछि जारी भएका अध्यादेशविरुद्ध संवैधानिक इजलासमा चलिरहेको मुद्दामा विपक्षी बनाइएका प्रधानन्यायाधीश जबरा सुनुवाइमा संलग्न हुन नपाउने भनेर प्रश्न उठेपछि उहाँले अलग हुने निर्णय गर्नुभएको हो ।

अब वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा गठन हुने इजलासले मुद्दाको सुनुवाइ गर्नेछ ।अधिवक्ता ओमप्रकाश अर्यालसहितले दायर गरेको रिटमा आज सुनुवाइ हुँदा प्रधानन्यायाधीश जबरा अलग हुनुपर्ने आवाज उठेको उठेको थियो।

अध्यादेश जारी भएपछि प्रधानन्यायाधीशले संवैधानिक परिषद्को बैठकमा भाग लिएको र विपक्षी भइ लिखित जवाफसमेत पेस गरेकाले अलग हुनुपर्ने कानून व्यवसायीले माग गरेका थिए।

वरिष्ठ अधिवक्ता शम्भु थापा, दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीश संलग्न हुन नमिल्ने जिकिर गर्नुभएको थियो ।

इजलासमा बस्दा स्वार्थ बाझिने भएकाले अलग हुनुपर्ने जिकिर कानून व्यवसायीले गरेपनि प्रधानन्यायाधीशले शुरुमा त्यसलाई अस्वीकार गर्नुभएको थियो । तर पछि उहाँले अलग हुने निर्णय गर्नुभएको हो ।

अधिवक्ता अर्यालले प्रधानन्यायाधीशले परिषद्को बैठकमा भाग लिँदै भागबन्डा समेत लिएकाले अलग हुनुपर्ने प्रश्न शुरुमा उठाउनुभएको थियो । अर्यालको यो प्रश्नपछि प्रधानन्यायाधीशले केहीबेर इजलासमा सवाल जवाफसमेत गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *