Main News

देशका विभिन्न भागमा बाढीपहिरोको वितण्डा, सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २ गते १७:०६
देशका विभिन्न भागमा बाढीपहिरोको वितण्डा, सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित (भिडियो रिपोर्टसहित)

२ असार २०७८ काठमाडौं । मनसुनको सुरुवातमै भएको भारी वर्षाले देशका विभिन्न भागमा विनाश निम्त्याएको छ । सिन्धुपाल्चोकमा बढी क्षति पुगेको छ ।

वर्षापछिको बाढी र पहिरोमा परी सिन्धुपाल्चोकमा सात जनाको मृत्यु भएको छ । केही वेपत्ता छन् । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले देशभर ११ जना बेपत्ता रहेको जनाएको छ । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा बाढी–पहिरोले ठूलो क्षति गरेको छ ।

संचार र सडक पनि भत्किएकाले ति क्षेत्रमा सम्पर्क विच्छेद भएको छ । उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गरिएको छ । मेलम्चीमा पानीको बहाव केही घटे पनि अहिले पनि नदीमा लेदो बगिरहेको छ ।

मेलम्ची क्षेत्रबाट बिहान सेनाको हेलिकप्टरमार्फत २६ जनाको उद्धार गरिएको छ । मेलम्चीमै रहेका स्वास्थ्यमन्त्रीका स्वकीय सचिव निर्मल बन्जाराले मेलम्ची आयोजनाको ड्याम स्थलमा रहेका केही व्यक्ति सम्पर्कमा नरहेको र हेलम्बुदेखि मेलम्ची बजारसम्मका कम्तीमा १३ जना हराईरहेको जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अन्तर्गत खोला छेउ घर भएकालाई बगाएको र उनीहरुको विस्तृत विवरण आइनसकेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

मेलम्ची–इन्द्रावती नदी किनारमा रहेको मेलम्ची बजारमा बाढीले ठुलो क्षति पुर्याएको छ । मेलम्ची बजारका जोखिमयुक्त ठाउँका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ ।

बाढी पहिरोमा फसेकाको उद्धार, पीडितलाई राहत सामग्री वितरण तथा सुरक्षित बासस्थानका लागि काम भइरहेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिनुभयो । विवरण संकलन गर्ने काम भइरहेकाले अहिले क्षतिको यकिन गर्न नसकिएको उहाँले बताउनुभयो ।

सभामुख अग्निप्रसाद सापकोटाले गृहजिल्ला सिन्धुपाल्चोकको विपत्ति प्रभावित क्षेत्रको भ्रमण गर्नुभएको छ । उहाँले नागरिकको तत्काल उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गर्नु भएको छ ।

बाढी पहिरोले सल्यान, बाजुरा, गोरखा, जाजरकोट, पाल्पा लगायतका जिल्लामा पनि क्षति गरेको छ । मनाङमा हेलिकप्टरबाट राहत पठाउने तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ । त्यहाँ बाढीका कारण जोखिममा रहेका ५०० जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *