Political Hightlights

सरकार संविधान र ऐन कानून मिच्दै राज्यसत्ता कब्जा गर्ने अभियानमा लाग्योः प्रचण्ड

हिमालय टिभी
२०७७ चैत २८ गते १४:३३
सरकार संविधान र ऐन कानून मिच्दै राज्यसत्ता कब्जा गर्ने अभियानमा लाग्योः प्रचण्ड

२८ चैत २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान र ऐन कानूनलाई मिच्दै राज्यसत्ता कब्जा गर्ने अभियानमा रहेको बताउनु भएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीद्धारा आजआयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शुक्रबार बसेको तीन दलको बैठकले सरकारले राज्यका सबै अङ्गहरुलाई सन्त्रासमा राख्ने र कब्जा गर्ने कोशिस गरेको निष्कर्ष निकालेको बताउनु भएको हो । यस्तै कर्मचारीतन्त्रलाई आतङ्कमा बाँच्न बाध्य पारिएको र उनीहरुको वृत्ति विकास, स्वतन्त्रता र आत्मसम्मानलाई कुल्चिने कोशिस भएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हिजो मात्रै हामी संसदभित्र भएका तीनवटा प्रमुख दलहरुको बैठक बस्दै थियौं । सरकारको बारेमा कुरा गर्न तपाईहरुलाई थाहा छ । त्यहाँ सबैको एउटा कुरामा सहमति देखा पर्‍यो । अहिलेको सरकारले कर्मचारीतन्त्रलाई आतङ्कमा बाँच्न बाध्य पार्न थालेको छ । राज्यका सबै अङ्गहरुलाई सन्त्रासमा राख्ने र कब्जा गर्ने कोशिस गरिएको छ, उनीहरुको वृति विकास उनीहरुको स्वतन्त्रता र आत्मसम्मानलाई कुल्चिने कोशिस भएको छ । राज्यका सबै अङ्गहरुमाथि जबरजस्ती कब्जा जमाउने षडयन्त्र शुरु भएको छ भन्नेकुरामा सबैको सहमति देखियो त्यहाँ । त्यो आफैमा एउटा ठूलो बिडम्बनाको स्थिति हो ।’

सरकारले कानून अनुसार हुनै नसक्ने र हुनै नहुने कामहरु गरिरहेको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । सरकार अवैधानिक, असंवैधानिक र अलोकतान्त्रिक काम गर्नतर्फ उन्मुख भइराखेकाले देशमा निकै ठूलो अन्यौल र सन्त्रास उब्जिएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अहिले हामीले हे¥यौं भने दिन दिनै जस्तो के संविधान, के ऐन कानून, नियम सबैलाई मिच्दै जबरजस्ती राज्यसत्ता कब्जा गर्ने एउटा डरलाग्दो अभियान चलेको स्थिति छ । हुनै नसक्ने र हुनै नहुने कुराहरु भइराखेका छन् । जे आधिकारिक हो, जे वैधानिक हो, जे संवैधानिक हो, जे विधिसम्मत हो त्यसलाई गलहत्याइएको छ, त्यसलाई निमोठिएको छ । जे अवैधानिक हो, असंवैधानिक हो, अलोकतान्त्रिक हो, नियमविरोधी कुराहरु त्यसलाई पच्छ्याइएको छ सरकारबाट यही सबैचिज अहिले देशमा निकै ठूलो अन्योल र सन्त्रास छ ।’

अध्यक्ष प्रचण्डले सरकारले संविधानलाई मिच्ने कोशिस जारी राख्दै गएमा नयाँ खालको विद्रोहमा जानुपर्ने पनि बताउनुभयो । लोकतान्त्रिक गणतन्त्र र संविधानसभामार्फत बनेको संविधानको रक्षाका निम्ति पनि आन्दोलनमा जानुको विकल्प नदेखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘साँच्चै संविधानलाई मिच्ने कोशिस जारी रहयो, यदि लोकतान्त्रिक मान्यतालाई कुल्चने र निरंकुश र स्वेच्छाचारी ढङ्गले नै जाने कोशिस भयो भने एउटा अर्को नयाँ खालको विद्रोहमा हामी सङ्गठित हुनुपर्ने, विद्रोहमा जानुपर्ने अवस्था आउन सक्छ ।’

उहाँले विद्रोहमा जानु अगाडी नयाँ सरकार गठन गरेर सोही सरकारमार्फत अहिले भइराखेका ज्यादत्तिहरुलाई सच्याउन चाहेको पनि प्रष्ट पार्नुभयो । संविधान नमान्ने सरकार हटाइनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हामी त्यो परिस्थिति आउनुभन्दा अगाडि नै नयाँ सरकार गठन गरेर त्यो सरकारमार्फत यो बिचमा भएका ज्यादत्तिहरुलाई सच्याउन चाहन्छौं ।’

सरकारले संसदीय समितिबाट पारित भएका ऐनहरुलाई अगाडी बढाउन नचाहँदा कतिपय ऐनहरु बन्न नसकेको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । निचामती कर्मचारी ऐन पनि प्रधानमन्त्रीले नै रोकेका कारण संसदमा आउन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘निजामती कर्मचारी ऐन संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको मर्म र भावना अनुसार बनाउनुपर्छ भनेर ड्राफ्ट भएको राज्य व्यवस्था समितिमा छलफल भएको छ त्यहाँबाट पारित भएको छ तर प्रधानमन्त्री स्वयंले त्यसलाई रोकेर प्रदेश र स्थानीय तहमा ऐन बन्ने सम्पूर्ण प्रक्रिया अवरुद्ध भएको बिडम्बना पनि हामीले अहिले देख्नु परेको छ । संसदभित्रको आधिकारिक समितिले निर्णय गरेको छ तर प्रधानमन्त्रीले त्यसलाई मान्नुहुन्न । सब ऐनहरु अवरुद्ध भएर बसेका छन् ।’

अध्यक्ष प्रचण्डले यो सरकार अब धेरैदिन नचल्ने र नयाँ सरकार बनेपछि कर्मचारीका मागहरुको सम्बन्धमा साथ समर्थन र सहयोग रहने पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्