Political Hightlights

कांग्रेस चितवनको अधिवेशन बिहीबार

हिमालय टिभी
२०७८ फागुन १८ गते १०:०३
कांग्रेस चितवनको अधिवेशन बिहीबार

१८ फागुन २०७८ चितवन । नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन बिहीबार हुने भएको छ । विगतमा पटक–पटक रोकिँदै आएको अधिवेशन हुने निश्चित भएको हो ।

कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले नारायणगढको नारायणी कला मन्दिरमा अधिवेशन हुने जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशनले सात पदाधिकारीसहित ४८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । यसैगरी तीन क्षेत्रबाट ११ जनाका दरले ३३ महासमिति सदस्यको चयन हुनेछ ।

जिल्ला सभापतिका लागि ६ जनाले आकाङ्क्षा राखेका छन् । प्रा डा सूर्यकान्त घिमिरे, कैलाश कोइराला, उत्तम जोशी, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ र विजय भुषालले सभापतिमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ । घिमिरे नेविसंघका पूर्वजिल्ला सभापति एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्ट्रार हुनुहुन्छ । खनाल र भुषाल महासमिति सदस्य हुनुहुन्छ भने कोइराला हालका उपसभापति र जोशी सचिव हुनुहुन्छ । श्रेष्ठ बागमती प्रदेशसभा सदस्य एवं मन्त्री हुनुहुन्छ ।

सङ्ख्या घटाउनका लागि आन्तरिक गृहकार्य भइरहेको छ । श्रेष्ठ संस्थापन पक्षमा देखिएका उम्मेदवार हुनुहुन्छ भने अन्य उम्मेदवार संस्थापन इतरका हुनुहुन्छ । संस्थापन इतरका उम्मेदवारमध्ये एक बनाउन गृहकार्य भइरहेको छ । सभापति निर्वाचित हुनका लागि ५१ प्रतिशत मत आवश्यक पर्छ । पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन नसके दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्नुपर्ने हुन्छ । दुई हजार ९०६ मतदाता छन् । बिहीबार मनोनयनको कार्यक्रम सम्पन्न गरी शुक्रबार मतदान प्रक्रिया अघि बढाइने निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *