Political Hightlights

एमसीसी संसदबाट पारित भइसकेकाले कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प छैन : ओली (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन १७ गते १५:५९
एमसीसी संसदबाट पारित भइसकेकाले कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प छैन : ओली (भिडियो रिपोर्टसहित)

१७ फागुन २०७८ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसदबाट पारित भइसकेकाले यसलाई कार्यान्वयन गरेर लैजानुको विकल्प नरहेको बताउनु भएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष ओलीले देशको हित हुनेगरी सो सम्झौंता पारित नगरे आफ्नो पार्टीलाई सैह्य नहुने चेतावनीसमेत दिनुभयो । सो सम्झौंताबारे आज काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले देश विकासको पक्षमा, सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधिनताको पक्षमा अलिकति पनि कुनै पनि प्रावधानले तलमाथि नपर्ने गरी त्यसलाई कार्यान्वयन गरेर अघि बढाउन सरकारलाई सचेत गराउनुभयो ।

यदि कुनै हिसावले देशको सार्वभौमसत्ता, स्वाधिनता, स्वतन्त्रता वा हाम्रो राष्ट्रिय हित, राष्ट्रिय स्वाभिमानमा कहीँ पनि तलमाथि पार्न खोजियो भने नेकपा एमालेलाई त्यो मान्न हुन नसक्ने अध्यक्ष ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले सभामुख अग्नीप्रसाद सापकोटाले संवैधानिक रुपमानै मृत भइसकेको एमसीसी सम्झौंतालाई संसदबाट पारित गर्न दिएर अर्को गम्भिर गल्ती गरेको आरोप लगाउनु भयो । ३ वर्ष अगाडि, ६ वटा जति अधिवेशन अगाडि अधिवेशनमा पेश गरिएको भनिएको प्रस्तावलाई अहिले पेश नै नगरी गैरकानूनी ढंगले मृत्य प्रस्ताव, अस्तित्वमा नरहेको प्रस्ताव अस्तित्वमा छ भनेर तथाकथित छलफल गर्ने र निर्णय गर्ने असंवैधानिक र गैरकानूनी काम फेरि पनि सभामुख सापकोटाले सरकारलाई गर्न लगाएको अध्यक्ष ओलीको दावी थियो ।

उहाँले सरकारले पनि सो सम्बन्धमा संसदमा नयाँ प्रस्ताव नल्याएर गल्ती गरेको बताउनु भयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘कानूनले के भन्छ भने एउटा अधिवेशनका पेश गरिएको प्रस्ताव त्यो अधिवेशनभित्र यदि निर्णयार्थ पेश भएन भने, निर्णयमा गएन भने त्यो अधिवेशनको समाप्तीसँगै त्यस प्रस्तावको औचित्य समाप्त हुन्छ ।’

संसदबाट पारित गरिएको व्याख्यात्मक घोषणाको एमसीसीसँग कुनै सम्बन्ध नरहेको अध्यक्ष ओलीले स्पष्ट पार्नुभयो । उहाँले सत्तारुढ दलहरुले आफ्नो लाज छोप्न, नेपाली जनतालाई अल्मल्याउन व्याख्यात्मक घोषणा संसदबाट पारित गरेर ठगीधन्दा चलाएको तर्कसमेत गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘एमसीसीको व्याख्यात्मक घोषणासँग कुनै सम्बन्ध छैन । यो लाज छोप्नका लागि ल्याइएको हो । व्याख्यात्मक घोषणा नेपाली जनतालाई झुक्याउने, अलमल्याउने, धोका दिने एउटा ठगी धन्दा हो । त्यो भन्दा माथि केही पनि होइइन यो व्याख्यात्मक घोषणा ।’

अध्यक्ष ओलीले आफ्नो पार्टीले सभामुख अग्नीप्रसाद सापकोटाको राजीनामा पर्खेर बसेको बताउनुभयो । उहाँले सभामुख सापकोटाले राजीनामा नदिए संसदमा महाअभियोग लगाउन सक्ने पनि बताउनुभयो । तर, सभामुख सापकोटाकोे ससम्मान बर्हिगमन आफ्नो पार्टीले चाहेको अध्यक्ष ओलीको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘नेकपा एमाले एउटा जिम्मेवार पार्टी हो । सभामुखमाथि महाअभियोग ल्याउँदैन भन्ने पनि छैन । ल्याउन सक्छ । ल्याउछ नै भन्ने पनि छैन । उहाँले राजीनामा गर्नु भयो भने नल्याउन सक्छ । हामी उहाँको राजीनामा पर्खिराखेका छौं । ससम्मान बहिर्गमन हुनुस् । ससम्मान हटनुस् । कमसेकम संसदले निस्काशन गर्नुप¥यो भन्ने नहोस् भन्ने पनि हामीले सोचिराखेका छौं । उहाँका क्रियाकलाप अनुचित छ । तर त्यो अनुचित क्रियाकलापलाई सच्याउने वा के गर्ने विषयमा एमालेले उपयुक्त समयमा विचार गर्छ ।’

अध्यक्ष ओलीले संशोधनका कुरा गर्नेहरुले पनि यथास्थितिमा एमसीसी पास गरेको भन्दै आपत्ति जनाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्