पाँच दलीय गठबन्धनबाट अलग भएको राष्ट्रिय जनमोर्चाको घोषणा
१६ फागुन २०७८ काठमाडौं । राष्ट्रिय जनमोर्चाले पाँचदलीय गठबन्धनबाट अलग भएको घोषणा गरेको छ ।
जनमोर्चाको आज बसेको केन्द्रीय सचिवालयको बैठकले गठबन्धनबाट अलग हुने निर्णय गरेको हो । अधिकांश जनता एमसीसीको विपक्षमा सडकमा हुँदाहुँदै झालझेलमा पारेर एमसीसी पास गर्नु राष्ट्रलाई दीर्घकालिन र गम्भीर क्षति पुग्ने भन्दै गठनबन्धन त्यागेको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा गठबन्धनमा आवद्व अन्य चार पार्टीले एमसीसीलाई संसदबाट पारित गराउन गरेको षड्यन्त्र, जालझेल, तिकडम र साम्राज्यवादीहरूको दलाली सैह्य नभएको उल्लेख छ ।
पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताकोविरुद्ध खडा भएको स्थितिमा गठबन्धनलाई कायम राखिरहनु पर्ने औचित्य समाप्त भएको छ विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय जनमोर्चाले एमसीसीको विरोधमा यही फागुन १९ देखि २२ गतेसम्म देशव्यापी जिल्ला तथा स्थानीय स्तरमा विरोध सभा गर्ने पनि जनाएको छ ।
प्रतिक्रिया