Political Hightlights

एमसीसी चाहियो भनेर अमेरिकालाई पत्र नलेखेको पूर्वप्रधानमन्त्री खनालको दाबी

हिमालय टिभी
२०७८ फागुन १३ गते १८:०१
एमसीसी चाहियो भनेर अमेरिकालाई पत्र नलेखेको पूर्वप्रधानमन्त्री खनालको दाबी

१३ फागुन २०७८ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू प्रधानमन्त्री हुँदा एमसीसी चाहियो भनेर अमेरिकालाई पत्र नलेखेको दाबी गर्नुभएको छ ।

आज आफ्नो पार्टीसम्बद्ध जनसंगठनद्वारा आयोजित एमसीसीबिरुद्ध खबरदारी सभामा बोल्दै नेता खनालले यस्तो बताउनु भएको हो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अहिले प्रतिगामी शक्तिहरुले एमसीसी चाहियो भनेर झलनाथ खनालले भनेको आरोप लगाइरहेको भन्दै त्यो सरासर झुटो भएको बताउनु भयो ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले आज पोखरामा आयोजित एक सभालाई सम्बोधन गर्दै झलनाथ खनालको प्रधानमन्त्री कार्यकालमा एमसीसी चाहियो भनेर पत्र लेखिएको बताउनु भएको थियो । नेता खनालले आफ्नो कार्यकालमा एमसीसीसँग कुनै कुरामा पत्र लेखेको डकुमेण्टहरु लिएर आउन पनि चुनौति दिनुभयो ।

उहाँले एमसीसीलाई पत्र लेख्ने कुरा डा. बाबुराम भट्टराई प्रधानमन्त्री बनेदेखि शुरु भएको र यो कुरा दिउँसोको घाम जत्तिकै छर्लङ्ग रहेको बताउनु भयो । नेता खनालले अहिले देशमा अर्कोले गल्ती ग¥यो म पनि गल्ती गर्छु भन्ने ढंगले राष्ट्रघाती कदमहरु चालिएको आरोप लगाउनु भयो ।

नेता खनालले भन्नुभयो, ‘एमसीसी त्यतिबेला जुन सरकारले सम्झौता गरेको थियो । यो एमसीसी सम्झौता त झलनाथ खनालको प्रधानमन्त्रीको कालमा पो शुरुवात भएको हो । उसले पो चिठी लेखेर यो कामको थालनी गरेको हो भन्ने कही मूर्खहरुले यसरी प्रचारप्रसार गरिरहेका छन् । यो १०० प्रतिशत मात्रै होइन एक लाख प्रतिशत झुटो कुरा हो । ’

नेता खनालले छिमेकी राष्ट्रलाई रुष्ट बनाएर टाढाको मुलुकलाई रिझाउन खोजे त्योभन्दा ठूलो दुर्भाग्य नेपालका लागि अरु कुनै नहुने दाबी गर्नुभयो । उहाँले छिमेकी राष्ट्रहरुलाई रुष्ट बनाउँदा युक्रेनको जस्तो दुर्भाग्य नेपालले पनि खेप्नु पर्नस्क्ने बताउनुभयो । उहाँले छिमेकी देश चीन र भारतविरुद्ध नेपालमा कुनै पनि गतिविधि भए नेपालको अस्तित्वमाथि खतरा पैदा हुने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

सम्मानित नेता खनालले अमेरिकाको दादागिरीको युग सकिएको भन्दै बिना संशोधनको एमसीसी नेपाललाई नचाहिने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्