Main News

प्रचण्डको यस्तो दोधारे चरित्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन ११ गते २०:४३
प्रचण्डको यस्तो दोधारे चरित्र  (भिडियो रिपोर्टसहित)

११ फागुन २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रले एमसीसीको विपक्षमा उभिने निर्णय गरिसकेको छ । सरकार पनि नछाड्ने र एमसीसीको विपक्षमा पनि उभिने निर्णयका कारण पाँच दलीय गठबन्धनकै भविष्य र औचित्यमाथि प्रश्न उठ्न थालेको छ । प्रचण्डको दोधारे चरित्रका कारण देशको राजनीति अस्थिर बनेको र एक पछि अर्को संकटतर्फ उन्मुख भैरहेको आरोपसमेत लाग्न थालेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमै सरकारले फागुन ८ गते संसदमा एमसीसी टेबुल गर्‍यो । सहमतिको मसी सुक्न नपाउँदै प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै विवरोध र विवादका बीच सरकारले एमसीसी टेबुल गरेको भन्न भ्याउनुभयो ।

यतिमात्र होइन एमसीसी टेबल गर्ने सहमति दिएर बालुवाटारबाट फर्किएका प्रचण्ड आफैले त्यसैको विरोध गर्न कार्यकर्ता सडकमा उतार्नुभयो । एमसीसी टेबल गरेपछि कांग्रेस नेता रामचन्द्र पौडेलसँगको भेटमा प्रचण्डले गठबन्धन नभत्किने आश्वसन दिनुभयो ।

त्यसको भोलिपल्ट माओवादी (क्रान्तिकारी) का महासचिव मोहन वैध्सँगको भेटमा कुनै पनि हालतमा एमसीसी पारित गर्न नदिने आश्वसन दिनुभयो । प्रचण्डले पार्टीका बैठकहरुमा गठबन्धन पनि नभत्किने र एमसीसी पनि पारित गर्न नदिने बताउँदै आउनु भएको छ । आफ्नै दोधारे चरित्र छताछुल्ल भइसक्दा पनि प्रचण्ड भने यी प्रकरणहरुमा अरुकै षड्यन्त्र भइरहेको दाबी गर्नुहुन्छ ।

प्रचण्डको दोहोरो चरित्रबाट आजित बनेको मुख्य सत्ताघटक नेपाली कांग्रेसले नै अब माओवादीले की एमसीसी पारित गर्न सहयोग गर्नुपर्ने कि सरकार छोड्नुपर्ने बताइसकेको छ । सरकारमा बस्ने सामान्य नैतिकता गुमिसकेको कुरा छरपष्टै भइसक्दा पनि माओवादी भने टसको मस भएको छैन ।

गठबन्धनमै आबद्ध जनता समाजवादीका नेता डाक्टर बाबुराम भट्टराईले समेत ट्वीट गर्दै सरकारमा बस्नेले कि एमसीसी प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने र कि नयाँ समीकरणका लागि तयार हुनुपर्ने बताइसक्नु भएको छ । सरकारमा पनि बस्ने र सडकमा कार्यकर्ता उतारेर सार्वजनिक सम्पत्ति तोडफोड तथा सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गर्ने उदेकलाग्दो राजनीतिमा माओवादी र एकीकृत समाजवादी लगायतका दलहरु सहभागी छन् । गठबन्धन तोडे चुनावमा एक्लै गएर जित्न नसक्ने अवस्था र एमसीसी छोडे चुनावमा लैजाने मुद्दाकै खडेरी हुने भएपछि यी दललाई एमसीसी भालुको कम्पारो बनेको तथ्य आम रुपमा छर्लंगै छ ।

तर दोहोरो चरित्र देखाउने प्रचण्डलगायतको बाध्यतामा जनता कन्भिन्स हुने अवस्था देखिँदैन । एमसीसी मुलुकको अहितमै हो भन्ने आत्मविश्वास हो भने त्यही मुद्दा लिएर सडकमा र त्यही मुद्दा लिएर ब्यालेटमा पुग्नलाई कसैको रोकतोक छैन । तर मझधारमा उभिएर गरेको कमिक्स अपाच्य हुँदै गएको छ । यसपटक धेरैको चासोको विषय बनिरहेको एमसीसी प्रकरणमा स्पष्ट रुपमा एउटा धार समाएर अघि नबढे यसले प्रचण्डलाई त घाटा होला नै यसै प्रकरणबाट निम्तिन सक्ने दुर्घटनाको अपजससमेत उहाँको काँधमा आउने निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *