Political Hightlights

गठबन्धनमा दरार आएपछि ओलीको साथ खोज्दै देउवा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन ७ गते १८:४९
गठबन्धनमा दरार आएपछि ओलीको साथ खोज्दै देउवा (भिडियो रिपोर्टसहित)

७ फागुन २०७८ काठमाडौं । संसदबाट एमसीसी पास गर्न सत्ता गठबन्धनभित्रै सहमति जुटाउन नसकेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी एमालेसँग छलफल थाल्नुभएको छ ।

एमसीसी अनुमोदन गर्न अमेरिकाले दिएको समयसीमा नजिकिँदै गर्दा प्रधानमन्त्री देउवा दबाबमा हुनुहुन्छ । एमसीसीकै कारण प्रमुख सत्तारूढ कांग्रेस र प्रमुख प्रतिपक्ष एमालेबीचको छलफल तीव्र बनेको छ ।

एमसीसीले प्रमुख सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीचको सामिप्यता बढ्दै गएको छ । सत्तासहयात्री दलहरुबाट साथ नपाउने संकेत देखेका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन तोडेरै भएपनि एमालेको साथ लिन प्रयास जारी राख्नुभएको छ ।

बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका प्रधानमन्त्री देउवाले आफ्नो पार्टीका नेताहरुमार्फत शुक्रबार पनि एमालेसँगको छलफललाई निरन्तरता दिनुभएको छ । बिहीबार दिउँसो नै डाक्टर मीनेन्द्र रिजाललाई ओली निवास पठाएर एमसीसी पारित गराउने एजेण्डामा एमालेको साथ खोज्ने प्रयास गरिएको थियो ।

एमसीसीलाई लिएर गठबन्धनबीच विवाद बढ्दै गएका बेला कांग्रेस नेताहरू ओलीलाई भेट्न बालकोट धाउन थालेपछि सत्ता गठबन्धनको भविष्य अन्योलमा परेको छ । शुक्रबार पनि देउवा निकट नेताहरुले अध्यक्ष ओली निकट नेताहरुसँगको छलफल सघन बनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यही राजनीतिक घटनाक्रमकाबीच प्रधानमन्त्री देउवा निकट नेताहरुले एमसीसीमा एकमत नभए गठबन्धन तोड्ने चेतावनी दिन थालेका छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले भने कांग्रेसलाई ठोस जवाफ दिइसकेको छैन । राजनीतिक दाउपेचमा खप्पिस मानिएका ओली आफूमाथि हुनेगरी मात्र कांग्रेससँग सम्झौता गर्ने दाउमा देखिनुभएको छ । वितेको २४ घण्टामा प्रधानमन्त्री देउवाको ओलीको साथ खोज्ने तीव्र प्रयासलाई ‘क्यास’ गर्ने मनस्थितिमा रहेको एमालेले अहिले पर्ख र हेरको रणनीति अपनाएको छ ।

सत्तागठबन्धनमा देखिएको मतभेदलाई हतियार बनाएर एमालेले कांग्रेससँग केही शर्त राख्ने तयारी थालेको छ । यही मौकामा माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त नगर्ने सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाउनुपर्नेसम्मका प्रस्तावमा कांग्रेसको साथ खोज्न सक्ने आँकलनहरु गर्न थालिएका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनभित्रको झमेलाले अहिले एमाले पुनः निर्णायक बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्