सत्ता गठबन्धनका शीर्ष नेताबीच एमसीसी र स्थानीय तहको निर्वाचनबारे छलफल
३ फागुन २०७८ काठमाडौं । सत्तारुढ गठबन्धनका तीन दलका शीर्ष नेताबीच अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट एमसीसीबारे छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भएको छलफलमा भोलिको संसद बैठकमा एमसीसी प्रस्ताव टेबुल गर्ने विषयमा सकारात्मक छलफल भएका बताइएको छ ।
कांग्रेसको संसदीय दल बैठकअघि प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले प्रचण्ड र नेपालसँग छलफल गर्नुभएको हो । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावका विषयमा पनि छलफल भएको थियो ।
सभामुख अग्निप्रसाद सापकोटाले आह्वानमा हिजो बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनका लागि संसदमा पेश गर्नुपर्ने बताउनुभएको थियो । प्रचण्डले भने संशोधन नभइ अनुमोदन गर्न नहुनेमा जोड दिनुभएको थियो ।
प्रतिक्रिया