Main News

निर्वाचनका लागि पुरानै स्रोत-साधन परिचालन गर्ने आयोगको तयारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २६ गते २०:३५

२६ माघ २०७८ काठमाडौं । निर्वाचन आयोग वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निवार्चनको बजेट बनाउन व्यस्त छ । निर्वाचनको मिति तय भएसँगै आयोगले खर्चको हिसाब निकालिरहेको छ । कम बजेटमा निर्वाचन सम्पन्न गर्ने बताइरहेको आयोगको कस्तो छ तयारी ?

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोग श्रोत(साधनको जोहोमा जुटेको छ । नेपालको निर्वाचन प्रणाली महंगो भएको भन्दै आलोचना भइरहँदा आयोगले भने यसपटक कतिपय सामग्री पुरानै प्रयोग गर्ने तयारी गरेको छ ।

स्थानीय तह निर्वाचनमा यसअघि प्रयोग भएका मतपेटिकाहरु जिल्ला निर्वाचन कार्यालयमा सुरक्षित छन् । केही टुटफुट भएकाबाहेक काम लाग्ने जति मतपेटिका र सवारी साधनसमेत पुरानै प्रयोग गर्ने योजना आयोगको छ ।

हरेक पटक निर्वाचनको खर्च बढ्दै गएको छ । स्थानीय तहमा समेत मतदाता थपिएको र मंहगी बढेकाले यसपटक पनि निर्वाचन खर्च बढ्ने अनुमान आयोगको छ । २०७४ सालको स्थानीय तह निर्वाचन तीन चरणमा गरेको आयोगले यसपटक एकै पटक गर्न लागेको छ ।

२०७४ को निर्वाचनमा आयोगले ८ अर्ब ७८ कारोड, ४९ लाख ७२ हजार रुपैयाँ विनियोजन गरेकोमा ६ अर्ब १३ करोड ९२ लाख ९२ हजार खर्च भएको थियो । उक्त निर्वाचनमा १ करोड ४० लाख ७२ हजार ४ सय २४ मतदाताले मतदान रहेका थिए । यो हिसाबमा ७४ सालको निर्वाचनमा प्रति मतदाता ४ सय ३६ रुपैयाँभन्दा बढी खर्च भएको थियो । यसपटक २० लाख मतदाता थपिएकाले खर्च अझै बढ्ने आयोगको अनुमान छ।

हरेकजसो निर्वाचनमा खर्चको अनुपात निकै धेरै बढेको छ । कमिसनको लोभमा नयाँ सामग्री खरिद गर्ने परम्परा भन्दा भएको स्रोत(साधन प्रयोग गर्ने हो भने राज्यको ठूलो रकम जोगिने छ ।

निर्वाचन आयोले यसपटक गत स्थानीय तह निर्वाचनमा प्रयोग गरेका र पुन प्रयोग गर्न मिल्ने सामग्री नै प्रयोग गर्ने योजनालाई मूर्त रुप दिने हो भने सरकारी ढुकुटी दोहनमा कटौती हुने आशा पलाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *