प्रधानमन्त्री देउवा, प्रचण्ड र ओलीबीच भेटवार्ता हुँदै, एमसीसीलगायतका विषयमा छलफल हुने
२३ माघ २०७८ काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच आज भेटवार्ता हुने भएको छ ।
अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुन लागेको हो । प्रधानमन्त्रीबाट हटेपछि एमाले अध्यक्ष ओली आज पहिलो पटक बालुवाटार जाँदै हुनुहुन्छ ।
तीन नेताबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र स्थानीय तहको निर्वाचनबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
यस्तै, प्रधानमन्त्री देउवाले सत्तासाझेदार माओवादी केन्द्रका नेताहरुसँग टेलिफोन सम्बाद गर्नुभएको छ । देउवा र प्रचण्डले संयुक्त रुपमा एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएपछि टेलिफोन सम्वाद भएको हो ।
अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले पत्र सार्वजनिक भएको बारे प्रधानमन्त्री देउवासँग जिज्ञासा राख्नुभएको बताइएको छ । जवाफमा प्रधानमन्त्रीले आफ्नोतर्फबाट सार्वजनिक नभएको बताउनुभएको थियो । एमसीसी कार्यान्वयन गर्न थप समय मागेको पत्र सार्वजनिक भएको थियो ।
प्रतिक्रिया