कर्णालीमा मन्त्रिपरिषद् विस्तारमा गठबन्धनमा विवाद, समाजवादी सहभागी नहुने

२२ माघ २०७८ सुर्खेत । कर्णाली प्रदेश सरकार विस्तारमा सत्तारुढ गठबन्धनबीच विवाद उत्पन्न भएको छ ।
भोलि मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री जीवनबहादुर शाहीको तयारीमा नेकपा एकीकृत समाजवादीले असहमति जनाएको छ । गत वैशाख २ गते भएको सहमति अनुसार एकीकृत समाजवादीले २ मन्त्री पाउने सहमति भएपनि अहिले मन्त्रालय फुटाएको अवस्थामा ३ मन्त्रालय पाउनुपर्ने अडान राखेको छ ।
त्यस्तै माओवादी केन्द्रले पनि ४ मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । यसो हुँदा कांग्रेसले मुख्यमन्त्री मात्र पाउने भएपछि सत्ता गठबन्धन संकटमा परेको छ ।
कांग्रेसले माओवादी केन्द्रलाई ३ र एकीकृत समाजवादीलाई २ मन्त्रालय दिंदै आफूसँग मुख्यमन्त्रीसहित ३ मन्त्रालय राख्ने प्रस्ताव गरेको छ । सात मन्त्रालयलाई फुटाएर कर्णाली प्रदेशमा ८ मन्त्रालय बनाइएको छ ।
एकीकृत समाजवादीले ३ मन्त्रालय नपाएसम्म सरकारमा सहभागी नहुने अडान राखेको छ । एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला सहितको टोली भोलि काठमाडौं पुगेर शीर्ष नेतासँग छलफल गर्ने तयारीमा रहेको छ ।
त्यस्तै माओवादी केन्द्रमा पनि गैर सांसदलाई मन्त्री बनाउन लागिएको भन्दै पार्टीभित्रै असन्तुष्टि शुरु भएको छ ।
प्रतिक्रिया