Political Hightlights

एमसीसी पास नभए गठबन्धन टुट्ने प्रधानमन्त्री देउवाको चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १६ गते १७:०२
एमसीसी पास नभए गठबन्धन टुट्ने प्रधानमन्त्री देउवाको चेतावनी (भिडियो रिपोर्टसहित)

१६ माघ २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको चालु अधिवेशनबाटै अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्नैपर्ने बाध्यतामा आफू रहेको बताउनु भएको छ ।

उहाँले एमसीसी पास नभए पाँचदलीय गठबन्धन टुट्ने चेतावनीसमेत दिनुभएको छ । हिजो साँझ सत्तारुढ पाँच दलको बैठक राखेर स्थानीय निर्वाचन जेठमा गर्ने सहमति जुटाउनु भएका देउवाले लगतै एमसीसीबारे छलफल गर्नु भएको थियो ।

बालुवाटारमा भएको छलफलमा राष्ट्रिय जनमोर्चाबाहेक चार दलका शीर्ष नेताहरु र कार्यदलका सदस्यहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की हुनुहन्थ्यो ।

बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले १ फेब्रुअरीसम्म अनुमोदन नगराए अमेरिकाले एमसीसी परियोजना फिर्ता लैजाने भन्दै संसदबाट अनुमोदन गर्नुपर्ने बताउनु भएको हो ।

फेब्रुअरी १ मा एमसीसी अनुमोदन गराउन अमेरिकाले म्याद दिएको प्रधानमन्त्रीले सुनाउनु भएको एमसीसी अध्ययन कार्यदलमा समेत रहेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिनुभयो । त्यसपछि बैठकमा शीर्ष नेताहरुबीच केहीबेर चर्काचर्की नै भएको थियो ।

उहाँले एमसीसी पास गर्नैपर्ने भएकाले सहयोग गर्न अरु दलका नेताहरुसँग देउवाले आग्रह गर्दा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु त्यसमा सहमत देखिएनन् ।

कार्यदलमा सदस्य माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यही अवस्थामा संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्न नसकिने बताउनु भएको थियो । जवाफमा प्रधानमन्त्री देउवाले संसदमा प्रस्ताव पेश गर्ने भन्दै पक्ष र विपक्षमा भोट हाल्न गठबन्धन आवद्ध दलहरु स्वतन्त्र रहेको बताउनुभो ।

गठबन्धन नै संकटमा पर्ने देखेपछि माओवादी र एकीकृत समाजवादीका नेताहरुले सभामुखमार्फत १० दिन संसद बैठक स्थगित गराएका छन् । आजका लागि बोलाइएको बैठकको कार्यसूची प्रकाशित भइसके पनि एकाएक बैठक १० दिन स्थगित भएको छ ।

श्रेष्ठ र खनाल सत्ता गठबन्धनले बनाएको एमसीसी परियोजनाबारे अध्ययन गर्न बनेको कार्यदलमा हुनुहुन्छ । देउवाले आज बिहान पनि श्रेष्ठ र खनालसँग एमसीसी अनुमोदन गर्ने विषयमा संवाद गर्नु भएको थियो ।

त्यस लगत्तै प्रधानमन्त्री देउवाले सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमाले अध्यक्ष ओलीसँग भेट्न आज बिहानै बालकोट पठाउनु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *