प्रधानमन्त्रीसँग प्रचण्ड र नेपालको भेट, भोलिका लागि बोलाइयो गठबन्धनको बैठक

१४ माघ २०७८ काठमाडौं । आगामी निर्वाचनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका प्रमुख दुई दलका शीर्ष नेताहरुसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्नुभएको छ ।
आजको छलफलपछि निर्वाचनबारे थप निर्णयका लागि सत्ता गठबन्धनका पाँचवटै दलका शीर्ष नेताहरुको बैठक बोलाउने सहमति भएको छ । पाँच दलीय गठबन्धनको बैठक भोलि बस्ने छ ।
आजको भेटमा स्थानीय तहको निर्वाचन, ऐन संशोधनलगायत विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री देउवाले हिजो साँझ मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसँग औपचारिक भेटवार्ता गर्नुभएको थियो ।
सत्ता गठबन्धनबीच स्थानीय तहको निर्वाचन केही पछि धकेल्ने विषयमा बहस हुँदै आएको छ । तर निर्वाचन कानून र संवैधानिक व्यवस्थाविपरीत चुनाव सार्न खोजिएको भन्दै सरकार र पाँच दलीय गठबन्धनको आलोचना हुँदै आएको छ ।
प्रतिक्रिया