Main News

राष्ट्रियसभा निर्वाचनः प्रदेश १ मा एक जनाबाहेक सबै स्थानमा गठबन्धनका उम्मेदवार विजयी

हिमालय टिभी
२०७८ माघ १२ गते १७:१६
राष्ट्रियसभा निर्वाचनः प्रदेश १ मा एक जनाबाहेक सबै स्थानमा गठबन्धनका उम्मेदवार विजयी

१२ माघ २०७८ काठमाडौं । राष्ट्रियसभा सदस्यको रिक्त १९ सदस्यका लागि आज सम्पन्न निर्वाचनमा प्रदेश १ बाहेक सबै प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रदेश १ मा सत्तारूढ गठबन्धनकातर्फबाट नेकपा एकीकृत समाजवादीबाट जयन्ती राई र नेपाली कांग्रेसका गोपाल बस्नेत विजयी हुनुभएको छ। यस्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सोनाम ग्याल्जेन शर्मा विजयी हुनुभएको छ । एमालेका गुरु बरालसंग मत बराबर भएपछि गरिएको गोला प्रथाबाट कांग्रेसका बस्नेत विजयी हुनुभएको हो ।

मधेस प्रदेशमा पनि सत्तारूढ गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । यहाँ कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबीचको गठबन्धन थियो । माओवादी केन्द्रबाट महिलातर्फ उर्मिला अर्याल र विजयी हुनुभएको छ । एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच पनि गठबन्धन भएको थियो ।

यस्तै वागमती प्रदेशतर्फको दुवै सिटमा सत्तारुढ गठबन्धन विजयी भएको छ । गठबन्धनका तर्फका उम्मेदवार रहेकी नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल विजयी हुनुभएको छ। स्थानीयतर्फ शतप्रतिशत अर्थात् २३७ मत नै खसेको थियो भने दुई मत बदर भएको थियो। विवेकशील साझा पार्टीले भने मतदानमा भाग लिएन ।

उता गण्डकी प्रदेशमा पनि गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका सुरेशबहादुर आले मगर र भुवन सुनार र नेपाली कांग्रेसकी कमला पन्त निर्वाचित हुनुभएको छ । यहाँ प्रदेश सांसदको केही मत क्रस भएको थियो ।

यस्तै तीन सदस्यका लागि भएको निर्वाचनमा लुम्बिनी प्रदेशबाट पनि गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका युवराज शर्मा, एकीकृत समाजवादीबाट महिलामा राजेन्द्रलक्ष्मी गैरे र जनमोर्चाको तर्फबाट दलिततर्फ तुलप्रसाद विश्वकर्मा निर्वाचित हुनु भएको छ ।

यसैगरी कर्णाली प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । तीन स्थानमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नरबहादुर विष्ट, काँग्रेसकी दुर्गाकुमारी गुरुङ, र एकीकृत समाजवादीका उदय बोहोरा निर्वाचित हुनु भएको हो ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महिलातर्फ नेकपा एकीकृत समाजवादी मदन कुमारी शाह गरिमा, दलिततर्फ माओवादी केन्द्रका जगत पार्की र अन्य समूहबाट नेपाली कांग्रेसका उम्मेदवार नारायणदत्त मिश्र विजयी हुनु भएको छ ।

आज बिहान ९ देखि दिउँसो ३ बजेसम्म भएको मतदानका लागि नौ दलका ४३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनुपर्ने थियो। निर्वाचनमा ५ सय ३२ प्रदेश सभा सदस्य र एक हजार चार सय ९३ स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेकामा १८ मतदाताले मतदानमा भाग लिएनन् ।

सत्ता गठबन्धनमा रहेका पाँच दलले संयुक्त रुपमा उम्मेदवारी दिंदा एमालेले मधेस वाहेकका सबै प्रदेशमा आफ्नो एकल उम्मेदवारी दिएको थियो। मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी र एमालेको गठबन्धन रहेको छ। राष्ट्रिय सभामा २० सांसदको आगामी फागुन २० गते पदावधि सकिँदैछ। एक जना भने राष्ट्रपतिबाट मनोनित गर्ने व्यवस्था छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *