Main News

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा, गठबन्धन र एमालेबीच प्रतिस्पर्धा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ११ गते २१:०१
राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा, गठबन्धन र एमालेबीच प्रतिस्पर्धा (भिडियो रिपोर्टसहित)

११ माघ २०७८ काठमाडौं । राष्ट्रिय सभा सदस्यको रिक्त १९ स्थानका लागि भोलि हुने मतदानको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले सात प्रदेशमा आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ ।

भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ ।निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् । निर्वाचनमा सत्ता गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रिय सभाका २० सांसद चारवर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनबाट बाहिरिँदै छन् । २० मध्ये एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछन् । प्रदेश १ बाट तीन जना निर्वाचित हुनेछन् । तीन पदका लागि आठ जना चुनावी मैदानमा छन् ।

सत्तारुढ गठबन्धनको कांग्रेसका गोपाल बस्नेत, एकीकृत समाजवादीकी जयन्ती राई र अल्पसंख्यकतर्फ जनता समाजवादीका हेमराज थुलुङ राई उम्मेदवार हुनुहुन्छ । यसैगरी एमालेबाट गुरु बराल, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पा उम्मेदवार हुनुहुन्छ । राप्रपाका अमर विष्ट र रञ्जु प्याकुरेलले पनि उम्मेदवारी दिनुभएको छ । प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखका लागि छुट्टाछुट्टै मतदान केन्द्र स्थापना गरिएको छ ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा ३६४ मतदाता छन् भने ९ हजार ३ सय १२ मतभार छ । प्रदेशमा नेकपा एमालेका जनप्रतिनिधिको ४ हजार ५ सय २४ मतभार रहँदा पाँच दलीय गठबन्धनमा आबद्ध दलहरुको कुल मतभार ४ हजार ६ सय ६८ छ । राप्रपाको १२० मतभार छ ।

मधेस प्रदेशमा दुई सिटका लागि मतदान हुँदैछ । मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबीच तालमेल भएको छ । गठबन्धन भएसँगै लोसपाले एमालेका अन्य समूहका उम्मेदवार उसमान अन्सारीलाई समर्थन गर्ने भएको छ ।

एमालेले लोसपाकी महिला उम्मेदवार रुपा कुमारी यादवलाई समर्थन गर्ने भएको छ । नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टीबाट महमद खालिद उम्मेदवार हुनुहुन्छ । मधेस प्रदेशमा गठबन्धन दलहरुको मतभार ७ हजार ३ सय २ छ । एमालेको ९ सय ४२ मतभार मात्र रहेको छ । यहाँ जसपाबाट फुटेको लोकतान्त्रिक समाजवादी पार्टीको १ हजार ५ सय ६० मतभार छ ।

बागमती प्रदेशमा पनि दुई सिटका लागि मतदान हुँदैछ । नेपाल मजदुर किसान पार्टीकी गीता काफ्ले र कृष्णबहादुर तामाङ, एकीकृत समाजवादीबाट गोमादेवी तिमिल्सिना, कांग्रेसबाट कृष्णप्रसाद पौडेल तथा एमालेबाट नीरकुमारी कुँवर र गोपाल शाक्य चुनावी मैदानमा हुनुहुन्छ । यहाँ पनि गठबन्धनको मतभार बढी भएकाले एमालेलाई कठिन छ । यो प्रदेशमा सत्ता गठबन्धनसँग ४ हजार ८ सय ९० मतभार छ भने एमालेसँग ४ हजार एक सय ५२ छ।

गण्डकी प्रदेशमा तीन सिटका लागि मतदान हुँदैछ । गण्डकीमा नेपाली कांग्रेसकी कमला पन्त, नेकपा माओवादी केन्द्रका भुवनबहादुर सुनार र सुरेश आलेमगर चुनावी मैदानमा हुँदा एमालेले लीला पोखरेल, अर्जुनकुमार सुनाम र पुण्यप्रसाद पौड्याललाई उम्मेदवार बनाएको छ । यहाँ पनि सत्ता गठबन्धन बलियो छ। उसँग ३ हजार ८४ मतभार छ भने एमालेसँग २ हजार ५ सय ३८ छ।

लुम्बिनी प्रदेशमा तीन स्थानका लागि मतदान हुँदैछ । एमालेबाट भारती उपाध्याय खनाल, कृष्ण सुनार र रामदयाल गुप्ता उम्मेदवार हुनुहुन्छ । सत्ता गठबन्धनबाट एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा र कांग्रेसका युवराज शर्मा प्रतिस्पर्धामा हुनुहुन्छ ।

एमाले फुटको असर लुम्बिनी प्रदेशमा खासै नपरे पनि यहाँ सत्ता गठबन्धन नै अगाडि छ। लुम्बिनीमा एमालेको मतभार ३ हजार २ सय ३४ छ भने गठबन्धनसँग ४ हजार ३ सय १४ रहेको छ। कोरोना संक्रमणलाई ध्यानमा राखेर मतदान स्थलमा सतर्कता अपनाउने निर्वाचन कार्यालयले जनाएको छ ।

कर्णाली प्रदेशमा तीन पदका लागि दुवै पक्षबाट ६ जनाले उम्मेदवारी दर्ता गराएका छन । गठबन्धनबाट माओवादीका नरबहादुर विष्ट, कांग्रेसकी दुर्गाकुमारी गुरुङ, नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहोरा उम्मेदवार हुनुहुन्छ । एमालेबाट चुडामणि शर्मा, पदबहादुर माझी र गंगा थापा महत चुनावी मैदानमा हुनुहुन्छ । यहाँ एमालेसँग १ हजार ४ सय ३४ मतभार छ भने सत्ता गठबन्धनसँग २ हजार ८ सय ९८ मत छ।

सुदूरपश्चिम प्रदेशमा पनि तीन सिटका लागि मतदान हुँदैछ । यो प्रदेशमा पनि सत्ता गठबन्धन एमालेभन्दा दोब्बर मतान्तरले अघि छ। यहाँ गठबन्धनको मतभार ३ हजार ७ सय ९२ देखिन्छ भने एमालेसँग एक हजार ७ सय ८८ छ। यो प्रदेशमा एमालेबाट सन्तोषकुमारी शर्मा थापा, नरेशकुमार विश्वकर्मा र डिल्लाराज भट्ट उम्मेदवार हुँदा गठबन्धनबाट एकीकृत समाजवादीकी मदनकुमारी शाह ‘गरिमा’, माओवादीका जगतबहादुर पार्की र कांग्रेसका नारायणदत्त मिश्र प्रतिस्पर्धामा हुनुहुन्छ ।

सातै प्रदेशमा गरी १९ पदका लागि हुने चुनावमा ४३ जना उम्मेद्‍वार छन्। दलहरुसँग स्थानीय तह र प्रदेशसभामा भएको मतभारका आधारमा मूल्यांकन गर्दा सातै प्रदेशमा पाँच दलीय गठबन्धनका उम्मेदवारले जित्ने निश्चित जस्तै देखिन्छ। प्रदेशबाट निर्वाचित हुने १९ सिटमा कांग्रेसले ६, माओवादी र समाजवादीले पाँचरपाँच, जसपालाई दुुई र जनमोर्चाले एक सिटका लागि उम्मेदवारी दिएको छ। एमालेले १९ वटै पदमा उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *