Main News

ग्लुकोज र चिनी मिसाएर नक्कली मह बनाएपछि…(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ७ गते २१:०१
ग्लुकोज र चिनी मिसाएर नक्कली मह बनाएपछि…(भिडियो रिपोर्टसहित)

७ माघ २०७८ काठमाडौं । काठमाडौँमै एक व्यक्तिले श्रीमतीको नाममा उद्योग दर्ता गरी खान अयोग्य (गुणस्तरहीन मह) बनाएर विक्री गर्ने गरेको खुलेको छ ।

ती व्यक्तिले विगत सात वर्षदेखि नै यसरी खान अयोग्य मह खुवाउँदै आएको फेला परेको छ । उनले विशेषगरी होटल रेष्टुरेन्टमा उक्त मह पठाउने गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

मिसावट गरी गुणस्तरहीन मह उत्पादन तथा बिक्री गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–२७ ज्याठा बस्ने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–६ का नतिजा प्याकेजिङका सञ्चालक ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नरबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले मिसावट गरी गुणस्तरहीन मह बनाइरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो । उनको साथबाट गुणस्तरतहीन तयारी मह ६०० किलो, मह बनाउन प्रयोग गरिने कच्चा छ हजार ५०० किलो, ग्लुकोज ५०० किलो, चिनी १०० किलो, एक÷एक थान तौल मेसिन, लेभल मेसिन, सिल मेसिन, पेट्राइज मेसिन, स्टोरेज मेसिन, स्पर्स हनीका लेभल र एक हजार पिस जार बरामद गरिएको छ ।

उनले काठमाडौँ, भक्तपुर र पोखराका होटेल, रेष्टुरेन्टमा थोक तथा खुद्रा बिक्री वितरण गर्ने गरेको पाइएको छ । मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गर्ने गरेका थिए । गुणस्तरहीन मह बनाइ प्रतिकेजी रु ६५० मा बिक्री गर्ने गरेको पाइएको महाशाखाले जनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षण गर्दा महमा न्यूनतम मापदण्डअनुसारको नरहेको र खान योग्यसमेत नरहेको पाइएको छ । उनलाई थप कारवाहीका लागि महानगरीय प्रहरी परिसरमा बुझाइएको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *