Main News

पहिला स्थानीय निर्वाचन कि संसदीय निर्वाचन ? (भिडियो रिपोर्टसहितं

हिमालय टिभी
२०७८ माघ ७ गते २०:३९
पहिला स्थानीय निर्वाचन कि संसदीय निर्वाचन ? (भिडियो रिपोर्टसहितं

७ माघ २०७८ काठमाडौं । स्थानीय कि संसदीय निर्वाचन पहिला ? भन्नेमा सत्तागठबन्धनबीच बहस चलिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै तीनै तहको निर्वाचन एक वर्षभित्रै गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

आफूले नेतृत्व सम्हालेपछिको ६ महिनामा गरेका कामको फेहरिस्त सुनाउँदै देउवाले निर्वाचन र कोरोनाविरुद्धको खोपमा जोड दिनुभयो ।

दिउँसो तीन बजेका लागि तय गरिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधन सवा घण्टा ढिलो मात्रै शुरु भयो । टेलिप्रमोटरमा पढ्नका लागि असहज भएपछि देउवाले करिब १ घण्टा अभ्यास गर्दा ३ बजेका लागि तय भएको सम्बोधन सवा ४ बजे मात्रै शुरु भएको हो ।

देउवाले सम्बोधनका क्रममा कोरोना नियन्त्रणमा भएका कामदेखि संसदको गतिरोध र ३ तहका निर्वाचनका बारेमा सरकारको तयारीबारे प्रष्ट पार्नुभयो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोध गरिरहे पनि देउवा एमालेप्रति नरमनै देखिनुभयो ।

संसदमा रहेका दलहरुबीच संवाद र सहमति जुटाउन सरकार प्रतिवद्ध रहेको भन्दै संसदमा विचाराधीन सबै विषयमा संवादका आधारमा निष्कर्षमा पुग्नुपर्नेमा देउवाको जोड छ । सत्तागठबन्धनभित्रै स्थानीय तहको निर्वाचन पहिला गर्ने कि संघीय निर्वाचन भन्ने बहस जारी रहँदा देउवाले भने एक वर्षभित्र स्थानीय, प्रदेश र संघको निर्वाचन गर्ने सरकारको तयारी रहेको बताउनुभयो ।

कोभिड(१९ लाई नियन्त्रण गर्न खोप नै प्रभावकारी उपाय भएको भन्दै प्रधानमन्त्री देउवाले चैत मसान्तसम्ममा खोप लगाउन योग्य सबै नेपाली नागरिकलाई निःशुल्क खोपको पूर्ण मात्रा दिने प्रतिबद्धता अनुरुप खोप अभियान चलिरहेको बताउनुभयो ।

तिव्र रुपमा फैलिरहेको कोभिड(१९ संक्रमणको तेस्रो लहरको रोकथाम, नियन्त्रण र उपचारका लागि तीनै तहका सरकारका बीचमा समन्वय र सहकार्य बढाईएको, स्वास्थ्य प्रणालीमा कुनै पनि साधन स्रोत र जनशक्तिको अभाव हुन नदिने व्यवस्था मिलाई उपचार व्यवस्थालाई चुस्त, दुरुस्त बनाइएको देउवाको दाबी छ ।

देउवाले बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी योजनाको पुनर्स्थापना गरी यस वर्ष भित्र मेलम्चीको पानी काठमाडौं ल्याउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । आर्थिक गतिविधिमा उल्लेख्य सुधार भएको भन्दै आउँदो वर्ष आर्थिक वृद्धिदर बढ्ने देउवाको जिकिर छ ।

११ पृष्ठ लामो सम्बोधनका क्रममा देउवाले पछिल्लो ६ महिनामा आर्थिक र विकास निर्माणमा भएका काम पनि समेट्नुभएको छ । सम्बोधनमार्फत अहिले आम चासोमा रहेको निर्वाचन र कोरोनाका बारेमा प्रष्ट पार्ने प्रधानमन्त्री देउवाले प्रयास गरेको देखिन्छ । तर, प्रधानमन्त्रीले दाबी गरेजस्तो कोरोना नियन्त्रण र आर्थिक वृद्धिद्धरको दाबी पूरा गर्न सरकार कति सफल हुन्छ ? त्यो भने भविष्यले नै बताउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *