प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता, समन्वय समितिको बैठक आह्वान

३ माघ २०७८ काठमाडौं । स्थानीय तह निर्वाचनको मितिबारे प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्तामा स्थानीय तह सहितका निर्वाचनबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीचको छलफलपछि राजनीतिक समन्वय समितिको बैठक भोलिका लागि बोलाइएको छ । समितिको बैठकले तीनै तहको निर्वाचन एकैपल्ट गर्ने वा स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गर्ने निश्कर्ष निकाल्ने तयारी गरेको छ ।
समन्वय समितिमा सत्तारुढ पाँच दलीय गठबन्धनका ११ सदस्य छन् । निर्वाचन आयोगले बैशाखका लागि स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरे पनि मिति घोषणा भएको छैन ।
सत्तारुढ गठबन्धनका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले असोजमा निर्वाचन गर्न माग गर्दै आएका छन् । तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बैशाखमै निर्वाचन हुनुपर्ने अडान राखेको छ । सत्तारुढ कांग्रेस भने अलमलमै छ ।
प्रतिक्रिया