Main News

राष्ट्रियसभा सदस्य निर्वाचन : कर्णालीमा यस्तो छ मतभार

हिमालय टिभी
२०७८ पुष १९ गते १६:४१
राष्ट्रियसभा सदस्य निर्वाचन : कर्णालीमा यस्तो छ  मतभार

१९ पुस २०७८ काठमाडौं । राष्ट्रियसभामा रिक्त हुने तीन सदस्यका लागि माघ १२ गते हुने निर्वाचनको प्रक्रिया सुरु भइसकेको छ ।

प्रदेश निर्वाचन कार्यालय सुर्खेतले कर्णालीबाट निर्वाचित हुने तीन सदस्यका लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन गर्दैछ भने मङ्गलबार उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका रहेको जनाएको छ ।

कर्णालीमा स्थानीय तहका प्रमुख÷उपप्रमुख १५६ र प्रदेशसभाका ३५ गरी १९१ जना मतदाता छन् । प्रदेश निर्वाचन अधिकारी एवं सहायक निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले मङ्गलबार उम्मेदवारको मनोनयन दर्ता हुने बताउनुभयो । उहाँका अनुसार कर्णालीमा महिला एक, अन्य एक र अपाङ्गता/अल्पसङ्ख्यक क्लस्टरबाट एक गरी तीन सदस्यमा निर्वाचन हुँदैछन् ।

महिलाबाट कविता बोगटी (हुम्ला), अपाङ्गताबाट जीवन बुढा (कालीकोट) र अन्यबाट ठगेन्द्रप्रकाश पुरी (रुकुम पश्चिम) को पदावधि सकिँदैछ । दलहरुले उम्मेदवारी दिँदा सम्बन्धित क्लस्टरबाटै दिनुपर्नेछ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गर्ने अधिकार स्थानीय तहका प्रमुख÷उपप्रमुख र प्रदेशसभाका सदस्यलाई मात्र छ । स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ तथा प्रदेशसभा सदस्यको मतभार ४८ हुने कानुनी व्यवस्था छ ।

राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा सबैभन्दा बढी मत नेकपा (माओवादी केन्द्र) सँग छ । माओवादी केन्द्रका स्थानीय तहमा प्रमुख÷उपप्रमुख गरी ५२ र प्रदेशसभामा १२ सदस्य छन् ।

माओवादी केन्द्रमा स्थानीय तहबाट ९३६ र प्रदेशसभाबाट ५७६ मत गरी एक हजार ५१२ मत छ । नेकपा(एमाले) का स्थानीय तहका प्रमुख/उपप्रमुख गरी ४५ र प्रदेशसभा सदस्य १३ जना छन् । स्थानीय तहबाट ८१० र प्रदेशसभाबाट ६२४ मत हुन आउछ । यो भनेको एमालेको कूल एक हजार ४३४ मत हो ।

नेपाली कांग्रेससँग स्थानीय तहका प्रमुख÷उपप्रमुखको ७२० तथा प्रदेशसभा सदस्यको २८८ गरी कूल एक हजार आठ मत छ । एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) मा स्थानीय तहका प्रमुख/उपप्रमुख गरी १३ र प्रदेशसभाका ३ जना मतदाता छन् । स्थानीय तहको मतभार २३४ र प्रदेशसभा सदस्यको मतभार १४४ गरी एकीकृत समाजवादीको कूल मत ३७८ रहेको छ । राप्रपाको एक जना प्रदेशसभा सदस्य भएकाले उसको मतभार ४८ मात्र छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *