Main News

प्रचण्डले आज राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने

हिमालय टिभी
२०७८ पुष १६ गते ७:४६
प्रचण्डले आज राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने

१६ पुस २०७८ काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी महाधिवेशनमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिनुहुने भएको छ ।

अध्यक्ष प्रचण्डको जवाफपछि प्रतिवेदन पारित गरिने माओवादी केन्द्रले जनाएको छ । समूहगत छलफलको निष्कर्ष २५ वटै समूहका प्रमुखले सुनाइसकेका छन् ।

समूहगत छलफलमा आएका सुझाव, पुरक प्रस्ताव र अध्क्ष प्रचण्डले दिने जवाफबारे हिजै बसेको स्थायी कमिटी बैठकमा छलफल भइसकेको छ ।

प्रचण्डको प्रतिवेदनमाथि नेताहरु राम कार्की, लेखनाथ न्यौपाने लगायतले पुरक प्रस्ताव समेत पेस गरेका छन् । ती प्रस्तावको समेत अध्यक्ष प्रचण्डले जवाफ दिनुहुने भएको छ ।

आजै अध्यक्षको प्रतिवेदन पारित गरेर निर्वाचन प्रक्रिया थालिने छ । क्लस्टर अनुसारको संख्या टुंग्याउने जिम्मा पाएको कार्यदलले आज काम सक्ने तयारी गरेको छ ।

क्लस्टरअनुसार प्रतिनिधित्व हुने संख्या टुंग्याउन माओवादी केन्द्रले पाँच सदस्यीय कार्यदल बनाएको थियो । देव गुरुङ, विष्णुपुकार श्रेष्ठ, जनार्दन शर्मा, लीलामणि पोखरेल र शक्ति बस्नेत सदस्य रहेको कार्यदलले आज बिहानसम्म काम सक्ने भएको छ ।

माओवादीले केन्द्रीय समितिमा महिलाका लागि ३५, दलितका लागि १५ र मुस्लिमका लागि ५ प्रतिशत प्रतिनिधित्व गराउने व्यवस्था विधानमा गरेको छ। कार्यदलले प्रतिवेदन दिएपछि आज फेरि स्थायी समिति बसेर केन्द्रीय समिति घोषणाबारे निर्णय लिने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *