Main News

माओवादी महाधिवेशन : प्रचण्डको राजनीतिक प्रतिवेदनमा छलफल(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १२ गते २०:३९
माओवादी महाधिवेशन : प्रचण्डको राजनीतिक प्रतिवेदनमा छलफल(भिडियो रिपोर्टसहित)

१२ पुस २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रको काठमाडौंमा जारी आठौं महाधिवेशनको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देव गुरुङले पेश गरेको विधान मस्यौदा पेश भएको छ । २५ समूह बनाएर प्रतिवेदनमा छलफल थालिनेछ ।

माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्द सत्र जारी छ । बन्द सत्रको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैचारिक तथा राजनीतिक प्रतिवेदन पेश गर्नुभयो । त्यस्तै स्थायी समिति सदस्य देव गुरुङले पनि विधान मस्यौदा पेश गर्नु भयो ।

दुबै प्रस्तावमा छलफल गर्न १ हजार ६ सय ३१ महाधिवेशन प्रतिनिधिलाई २५ वटा समूहमा बाँडिएको छ । समूहगत छलफलका लागि बाँडिएका महाधिवेशन प्रतिनिधिहरुले सुझाव पेश गर्ने छन् । प्रतिवेदन माथि छलफल सकिएपछि बन्द सत्रमा उठाइएका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिनु हुनेछ ।

अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदनमा शान्ति प्रक्रियामा आइसकेपछि कतिपय निर्णय गर्दा कमजोरी भएको र आगामी दिनमा सच्याएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिएको छ । त्यस्तै पार्टी एकता प्रक्रिया र पार्टी विभाजनमा भएका त्रुटिको पनि समीक्षा गरिएको महाधिवेशन प्रतिनिधिहरुको भनाइ छ ।

प्रतिवेदन माथि छलफल र अध्यक्ष प्रचण्डको जवाफ पछि बन्द सत्र मुख्यत नेतृत्व चयन प्रक्रियामा केन्द्रित हुनेछ । पार्टीका अध्यक्षमा पुनः प्रचण्ड नै दोहोरिने निश्चित भैसकेपनि अन्य पदमा भने आकाँक्षी धेरै भएकाले सहमतिमा नेतृत्व चयनको प्रक्रिया केही जटिल देखिएको छ । तर, विधान मस्यौदामा पदाधिकारीको संख्या बढाउने प्रस्ताव गरेर केही सहज बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *