बागमति प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

८ पुस २०७८ हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
प्रदेशसभा भवन हेटौडामा आज बिहान ११ बजे बसेको बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी एमालेले बैठक अवरोध गरेको थियो ।
आफ्नो पार्टीले उठाएका प्रश्नहरूको जवाफ दिनुपर्नेमा मुख्यमन्त्री पाण्डे अनुपस्थित भएको भन्दै एमालेले बैठक अवरोध गरेको हो । एमालेको अवरोधपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिनुभएको छ ।
एमालेले आफू सरकारमा रहँदा सुरु गरिएको गौरवको आयोजना कटौती फिर्ता हुनुपर्ने, मुख्यमन्त्री पाण्डेले धादिङमा दिएको सार्वजनिक अभिव्यक्तिमा माफी माग्नुपर्ने र मन्त्रालय विभाजनको विषयमा स्पष्ट रुपमा जवाफ दिनुपर्ने माग गर्दै हिजोको प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो । तर मुख्यमन्त्री पाण्डेले आजको बैठकमा जवाफ दिने प्रतिवद्वता जनाएपछि एमाले सदन सञ्चालन गर्न सहमत भएको थियो ।
प्रतिक्रिया