नेपालमा थप एक जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि, २३६ नयाँ संक्रमित थपिए
७ पुस २०७८ काठमाडौं । पछिल्लो पटक नेपालमा थप २ सय ३६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् भने थप एक जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ ।
जिन सिक्वेन्सिङ गर्दा ९८ वर्षका एक वृद्धमा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा। संगीता मिश्राले जानकारी दिनुभयो । ती संक्रमित होम आइसोलेसनमा रहेको मिश्राले बताउनुभयो ।
नेपालमा एक महिनाअघि दुई जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको थियो । पछिल्लो पटक सात हजार २ सय ३३ जनामा पीसीआर परीक्षण गरिएकोमा २ सय १७ र चार हजार ४३ एन्टिजेन परीक्षण गर्दा १९ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भक्तपुरमा १३, ललितपुरमा ३३ र काठमाडौंमा ७६ गरी काठमाडौं उपत्यकामा जम्मा १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक २ सय ७२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
नेपालमा पाँच हजार एक सय ८५ जना सक्रिय सङ्क्रमित छन् । यसैगरी यही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ७९ पुगेको छ ।
प्रतिक्रिया