Main News

आगामी निर्वाचनमा जित सुनिश्चित गराउने काममा ध्यान केन्द्रित गर्न ओलीको आव्हान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २५ गते १८:५०
आगामी निर्वाचनमा जित सुनिश्चित गराउने काममा ध्यान केन्द्रित गर्न ओलीको आव्हान (भिडियो रिपोर्टसहित)

२५ मंसिर २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा जित सुनिश्चित गराउने काममा ध्यान केन्द्रित गर्न पार्टी पंक्तिलाई आह्वान गर्नुभएको छ ।

भक्तपुरको गट्ठाघरमा आज सुरु पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित हुने गरी जनताको बीचमा पुग्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले जनता आफ्नो पार्टीको साथमा रहेकाले आगामी निर्वाचनमा विजयी हुनका लागि पार्टीले कुनै पनि मोर्चाबन्दी गरिरहन नपर्ने दावी समेत गर्नुभयो ।

अध्यक्ष ओलीले पार्टी मातहतका सबै जनवर्गीय संगठनलाई अविलम्ब अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न निर्देशन दिनुभयो । उहाँले छिटो अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्दा मात्रै जनवर्गीय संगठनहरु कामकाजी हुने बताउनुभयो ।

पार्टीको चालु केन्द्रीय कमिटी बैठकले कार्य विभाजन पनि गर्ने भएकाले पाएको जिम्मेवारी तीव्रताका साथ पूरा गर्न नेताहरुलाई सचेत गराउनु भयो ।

अध्यक्ष ओलीले पार्टीका नेताहरुले देश र जनताको सेवक भएर काम गर्नुपर्ने दोहो-याउनु भयो ।

उहाँले राष्ट्रको अभिभारा एमालेको काँधमा रहेको उल्लेख गर्दै पार्टीले सोही अनुसारका गतिविधिलाई अघि बढाउनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *