प्रमुख राजनीतिक दलका शीर्ष नेता आज एउटै मञ्चमा, विदेशी पाहुना आउने
२४ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट शुरु हुँदैछ । कोरोना महामारीका कारण दुई वर्ष ढिलो गरी हुन लागेको महाधिवेशनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन् ।
आज हुने उद्घाटन समारोहमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीलगायत दलका राजेन्द्र महतो र महन्त ठाकुर लगायत सहभागी हुने कार्यक्रम रहेको छ । तर, एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था ठिक नभएकाले उहाँ आउने नआउने तय भइसकेको छैन ।
यस्तै महाधिवेशनमा विदेशी दलका पाहुनालाई पनि आमन्त्रण गरिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कांग्रेस आईका महासचिव मुकुल वस्निक, भारतीय जनता पार्टीका वरिष्ठ नेता हरिश द्विवेदी र भारतका पूर्वमन्त्री हर्षवर्द्धन छन् ।
महाधिवेशनमा उपसभापति विमलेन्द्र निधिको नीतिसम्बन्धी प्रतिवेदन, महामन्त्रीद्वय शशाङ्क कोइराला र पूर्णबहादुर खड्काको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवको आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछन् ।
तीनवटै प्रतिवेदन हिजो बसेको केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको छ । यसपटकको महाधिवेशनमा पार्टीको नीति तथा सिद्धान्तमाथि बहस हुने छैन । कांग्रेसले १४ औं महाधिवेशनलाई नेतृत्व केन्द्रित गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया