Main News

निर्वाचनको समय नजिकिँदै जाँदा मतदाता नामावली संकलनमा चाप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २१ गते ६:२०
निर्वाचनको समय नजिकिँदै जाँदा मतदाता नामावली संकलनमा चाप (भिडियो रिपोर्टसहित)

२१ मंसिर २०७८ काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन पुनः शुरु गरेको छ । अघिल्लो वर्ष कोरोना महामारीका कारण रोकिएको नामावली संकलन यसपटक मंसिर १७ गतेबाट शुरु गरिएको हो ।

निर्वाचन आयोगका कार्यालयहरुबाहेक स्थानीय तहका ६ सय ३७ वटा केन्द्रबाट नामावली संकलन गरिँदैछ । अहिले काठमाडौंका स्थानीय केन्द्रहरुमा भीड बढेको छ ।

काठमाडौ महानगर लगायत दक्षिणकाली, कीर्तिपुर, नागार्जुन, चन्द्रागिरी, तारकेश्वर लगायतका नगरपालिकामा मतदाता नामावली संकलन भइरहेको छ ।

काठमाडौंको निर्वाचन कार्यालयले पनि संकलन सुरु गरेको छ । मतदाता परिचय पत्र बनाउनका लागि निर्वाचन कार्यालयदेखि स्थानीय केन्द्रहरुमा समेत भीड बढेको छ । २ देखि ३ घण्टासम्म लाइनमा बस्दा पनि पालो नआएको मतदाता परिचयपत्र बनाउने आउने सेवाग्राहीको गुनासो छ ।

कतिपय सेवाग्राही कर्मचारीको ढिलासुस्ती र भनसुन गरेर लाइनमै नबसी जानेहरुका कारण दुःख पाइएको कतिपयले गुनासो गरे ।

स्थानीय केन्द्रहरुबाहेक निर्वाचन आयोगका ७७ जिल्लामा रहेका कार्यालयबाट निरन्तर नामावली संकलन हुने भएकाले भिडभाड गर्नुनपर्ने आयोगले सुझाव दिएको छ ।

नयाँ नामावाली संकलनका लागि मात्र हैन मतदान स्थल सार्न आउनेको छुट्टै गुनासो छ । उनीहरुलाई बसाईसराईको कागजात पेश गर्नुपर्ने कुरामा अप्ठ्यारो भएको छ ।

तर मतदान स्थल सार्ने जिल्लाकै नागरिकता हुनेले भने सजिलै काम भएको बताउँछन्।

१५ दिनसम्म स्थानीय केन्द्रहरुबाट नामावली संकलन भएपनि आयोगका जिल्ला कार्यालयहरुबाट निरन्तर नामावाली संकलन हुन्छ । तीनै तहको निर्वाचन नजिकिँदै जाँदा मतदाता परिचयपत्र बनाउन जाने सेवाग्राही बढेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *