कांग्रेसको चार वटा प्रदेशको निर्वाचन परिणाम सार्वजनिक, बागमतीमा मतदान हुँदै

१९ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको ६ वटा प्रदेशमध्ये चार वटा प्रदेशको मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।
मतगणनामा पार्टी सभापति शेरबहादुर देउवा पक्षका दुई र वरिष्ठ नेता रामचन्द्र पक्षका एक जना विजयी हुनु भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा देउवा पक्षका उम्मेदवार विजयी हुनु भएको हो ।
कर्णालीमा ललितजंग शाही र सुदूरपश्चिममा वीरबहादुर बलायर विजयी हुनुभएको हो । शाहीले पौडेल पक्षका उम्मेदवार भूपेन्द्रजंग शाहीमाथि जित हासिल गर्नुभयो । त्यस्तै सुदूरपश्चिममा बलायरले नारायणदत्त मिश्रलाई ४ सय ८ मतले पराजित गर्नुभयो । बलायरले ६ सय ८८ तथा मिश्रले २ सय ८० मत पाउनु भएको हो ।
गण्डकीमा पौडेल पक्षका शुक्रराज शर्मा विजयी हुनुभएको छ । उहाँले देउवा पक्षका उम्मेदवार अर्जुन जोशीलाई पराजित गर्नुभएको हो ।
यता बागमती प्रदेशमा भने तीन जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशतभन्दा धेरै मत ल्याउन नसकेपछि फेरि सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच प्रतिस्पर्धा हुँदैछ ।
देउवा पक्षका इन्द्रबहादुर बानियाँ र पौडेल पक्षका जगदीश्वर नरसिंह केसीबीच फेरि निर्वाचन हुने भएको हो । सिटौला पक्षका भिमसेनदास प्रधान भने प्रतिस्पर्धाबाट बाहिरिनु भएको छ ।
अहिले केहीबेरमा मतदान पुनः हुने भनिए पनि मतदान अझै शुरू हुन सकेको छैन । हिजो मतदान भएको अर्को प्रदेश लुम्बिनीमा मतगणना जारी छ । प्रदेश १ मा भने मतगणना अझै शुरू हुन सकेको छैन । प्रदेश २ को अधिवेशन भने केन्द्रीय महाधिवेशनपछि हुने कांग्रेसले जनाएको छ ।
प्रतिक्रिया