Main News

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन काठमाडौंमा शुरू Live

हिमालय टिभी
२०७८ मंसिर १५ गते १२:५७
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन काठमाडौंमा शुरू Live

१५ मंसिर २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन शुरू भएको छ ।

काठमाडौंको भृकुटी मण्डपमा महाधिवेशनको उद्घाटन सत्र शुरू भएको हो । कमल थापा, पशुपति शम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाको एकीकरण पछि हुन लागेको महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको छ ।

तीन दिनसम्म चल्ने महाधिवेशनमा चार हजार तीन सय ८० प्रतिनिधि सहभागी हुँदैछन् । कूल एक सय ९९ सदस्य कार्य समितिमा ७५ प्रतिशत अर्थात अध्यक्षसहित एक सय ४७ जना प्रत्यक्ष तथा बाँकी २५ प्रतिशत अर्थात ५२ जना नयाँ कार्यसमितिले मनोनित गर्नेछ ।

महाधिवेशनमा पुरानो र नयाँ पुस्ता प्रतिस्पर्धामा छन् । राप्रपाका वर्तमान अध्यक्ष कमल थापाले अध्यक्षमा आफूलाई दोहोर्‍याउने बताउनु भएको छ । त्यस्तै राजेन्द्र लिङ्देनले पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

पटकपटक विभाजन र एकता गर्दै आएको राप्रपाको यसपटकको महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको छ । राप्रपा एकीकरणपछि हाल रहेका तीन अध्यक्ष हट्नेछन् । एकता महाधिवेशनबाट एक जना अध्यक्ष चुनिनेछन् । तीन वर्ष अध्यक्ष भएर पार्टीको नेतृत्व गरेका थापा र राप्रपाको नेतृत्व अब नयाँ पुस्ताले गर्नुपर्ने भन्दै लिङ्देन पक्ष चुनावी मैदानमा उत्रिन लागेका छन्।

दुई नेताबीच अध्यक्षमा टक्कर भएपछि वरिष्ठ नेताहरू पनि दुई खेमामा खुलेरै लागेका छन। थापालाई लोकेन्द्रबहादुर चन्द, दीपक बोहरा लगायतको साथ छ भने लिङदेनलाई अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनी, धवलशम्शेर राणा लगायतको साथ छ।

तीन पटक अध्यक्ष भएका कमल थापालाई पुराना पुस्ताको साथ रहँदा लिङ्देन युवा पुस्तामा लोकप्रिय छन्। राप्रपामा ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रबाट कम्तिमा नौ जना र सक्रियता सदस्य बढी भएको क्षेत्रमा थप दुई गरी देशभरबाट करिब ३ हजार प्रनिनिधि छन्। संघीयता खारेजी, हिन्दु राज्य र राजतन्त्रको पक्षमा उभिँदै आएको राप्रपाका नेताहरु यहि एजेण्डा बोकेर अधिवेशनमा होमिएका छन् ।

यसैबीच भृकुटीमण्डपमा जारी महाधिवेशन स्थलमा शीर्ष नेताहरुको सम्बोधन शुरु भएको छ । अब हामी यहाँलाई राप्रपा महाधिवेशन स्थलतर्फ ध्यानाकर्षण गराउँदैछौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *