माघ १२ गते राष्ट्रियसभाको निर्वाचन गर्ने सरकारको निर्णय

३ मंसिर २०७८ काठमाडौं । सरकारले आउँदो माघ १२ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको छ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले माघ १२ गते राष्ट्रियसभाको २० सदस्यका लागि निर्वाचन गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो । निर्वाचन आयोगले माघ ७ देखि १० गतेभित्र राष्ट्रियसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो ।
आगामी फागुन २० गतेबाट राष्ट्रिय सभाका २० सदस्यको पद रिक्त हुँदै छ । पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाबाट कार्यकाल निर्धारण गरिएको थियो । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्यक दुई वर्षमा सकिन्छ भने एक तिहाइको पदावधि चार वर्ष हुने व्यवस्था छ ।
त्यही प्रावधान अनुसार २० जना सासंद्को पदावधि आउँदो फागुन २० गते सकिन लागेको हो । संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरेअनुसार मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तय गरेको हो ।
नेकपा एमालेका आठ, माओवादी केन्द्रका पाँच, एकीकृत समाजवादीका चार र नेपाली कांग्रेसका तीन जना सांसदको पदावधि सकिन लागेको हो ।
प्रतिक्रिया