Main News

न्यायालय विवादः सबै आफ्नै अडानमा, गतिरोध लम्बिने संकेत (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १ गते २०:५३
न्यायालय विवादः सबै आफ्नै अडानमा, गतिरोध लम्बिने संकेत (भिडियो रिपोर्टसहित)

१ मंसिर २०७८ काठमाडौं । देशको सर्वोच्च न्यायालयको काम कारवाही पछिल्लो तीन सातादेखि प्रभावित बनेको छ । प्रधानन्यायाधीशको राजीनामा नआएसम्म अदालत नपस्ने कानून व्यावसायीको घोषणा र राजीनामा नदिने प्रधानन्यायाधीशको हठका कारण सर्वोच्च परिसरमा दैनिक आन्दोलन भइरहेको छ ।

मंगलबार सत्ता गठबन्धनले सार्वजनिक गरेको आधिकारिक धारणामा समेत केही दम नदेखिएका कारण न्यायालयको गतिरोधको सिलसिला केही समय अझै लम्बिने देखिन्छ ।

वरिष्ठ अधिवक्ता शम्भू थापाले भाषणमा प्रधानन्यायाधीश राणाको बहिर्गमन भइसकेको भने पनि बहिर्गमन त्यति सहज छैन । संवैधानिक परिषद्बाट नियुक्ती पाएका प्रधानन्यायाधीश राणालाई बहिर्गमन गर्नका लागि दुईवटा बाटा छन् । पहिलो र सहज बाटो भनेको प्रधानन्यायाधीश स्वयंबाट राजीनामा हो ।

अर्को बाटो भने महाअभियोग हो, जुन संसदीय प्रकृया मार्फत हुन्छ । यसका लागि सत्ता गठबन्धन र विपक्षी दलको भूमिका महत्वपूर्ण छ । अहिलेको अवस्थामा न त उहाँको राजीनामा आउँछ, न विभिन्न कालखण्डमा सत्ता र विपक्षी दुबैलाई कुनै न कुनै रुपले सहयोग गरेका प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने ल्याकत राख्छन् । यता, आन्दोलनरत कानून व्यावसायी पनि झुक्ने पक्षमा छैनन् ।

सर्वोच्च अदालतकै अरु न्यायाधीश, कानून व्यवसायी, पेशगत संघ संगठन र नागरिक समाजले राणाको राजिनामा माग्दै आन्दोलन गरे पनि सरकार र दलहरुले त्यो आन्दोलन र न्यायालयको विवाद देखेको नदेख्यै गरेका छन् । सत्तरुढ गठबन्धनले न्यायालयको सम्बन्धमा मंगलबार औपचारिक धारणा सार्वजनिक गर्‍यो । तर, त्यो धारणा कर्मकाण्डी मात्र थियो ।

सत्ता गठबन्धनको कुरा सुन्दा यथास्थितिमा न्यायालयका विषयमा सरकारले ठोस कदम चाल्ने सम्भावना देखिँदैन । यता प्रधानन्यायाधीश जबरा भने केही न्यायाधीशलाई फकाएर अदालतको दैनिक काम कारवाही संचालन गर्ने मुडमा देखिनुहुन्छ । यो अवस्थामा न्यायलयमा देखिएको गतिरोध अनिश्चिततातर्फ बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *